नेपालको दलगत राजनीतिक विषयमा रहेर विभाजित नहुन एनआरएनलाई परराष्ट्रमन्त्रीको आग्रह


टेक्सस । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले देशबाहिर रहने नेपालीलाई नेपालको दलगत राजनीतिक विषयमा रहेर विभाजित नहुन आग्रह गरेका छन् । अनलाइन माध्यमबाट आजदेखि शुरु भएको गैरआवासीय नेपाली सङ्घ, अमेरिकाज क्षेत्र स्तरको क्षेत्रीय बैठक तथा दोस्रो क्षेत्रीय विज्ञ भेलाको उद्घाटन गर्दै उनले देशबाहिर रहने नेपालीले नेपालीपन मात्र लिएर एकताबद्ध भई अगाडि बढ्नुपर्नेमा जोड दिए ।

मन्त्री ज्ञवालीले काँग्रेस, कम्युनिष्ट, गुट–उपगुटको नाममा विदेशमा झगडा नगर्न गैरआवासीय नेपालीलाई आग्रह गरे । उनले नेपालको विकास र समृद्धिका लागि गैरआवासीय नेपालीको लगानीमात्र होइन गैरआवासीय नेपालीले विदेशमा सिकेको सीप, ज्ञान र अनुभव उपयोग गर्न सरकार सधैँ तयार रहेको बताए ।

फरक प्रसङ्गमा मन्त्री ज्ञवालीले वर्तमान सरकार देशको विकास र समृद्धिका लागि प्राप्त जनादेशअनुसार नै अगाडि बढिरहेको उल्लेख गर्दै उपलब्धिसमेत हासिल भइरहेको आर्थिक सूचकहरुबाट देखिएको बताए । पछिल्लो समय कोरोना महामारीबाट विश्वसँगै नेपालमा पनि त्यसबाट असर पुगेको बताउँदै मन्त्री ज्ञवालीले अप्रत्याशित विपत्तिबाट देशमा या विदेशमा रहेका नेपाली जनतालाई जोगाउनका लागि सरकारले काम गरिरहेको उल्लेख गरे ।

नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले नेपालको लोकतन्त्रको सुदृढीकरणका लागि देशबाहिर रहने नेपालीको पनि उत्तिकै भूमिका रहेको बताए । उनले एक पटकको नेपाली सधैँको नेपाली भन्ने पक्षमा काँग्रेस रहेको उल्लेख गर्दै अब कुनै पनि योजना तर्जुमा गर्दा केवल देश भित्रका नेपालीलाई मात्र हेरेर नभई समग्र नेपालीलाई हेर्नुपर्नेमा जोड दिए ।

यस्तै, नेकपाका स्थायी समिति सदस्य पूर्वमन्त्री जनार्दन शर्माले गैरआवासीय नेपालीको समस्या समाधानमा आफूहरु गम्भीर रहेको बताए ।
तीन दिनसम्म चल्ने सम्मेलनका क्रममा विभिन्न विषयमाथि अन्तरक्रियात्मक कार्यशालाहरु सञ्चालन हुनेछन् । सम्मेलनबाट टोरोन्टो घोषणापत्र जारी गर्दै सो घोषणापत्र एनआरएनए आइसिसीमार्फत नेपाल सरकारलाई हस्तान्तरण गरिने आयोजकले जनाएका छन् । एनआरएनए आइसिसीले विभिन्न क्षेत्रमा क्षेत्रीय बैठक तथा क्षेत्रीय विज्ञ सम्मेलनको आयोजना गरेपश्चात् अक्टुबरमा अन्तर्राष्ट्रिय विज्ञ सम्मेलनको आयोजना गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।