छलफल र समन्वय गरी मच्छिन्द्रनाथको रथ तान्ने कार्य गर्न सरकारलाई कमल थापाको सुझाव


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सम्बन्धित पक्षसँग छलफल र समन्वय गरी मच्छिन्द्रनाथको रथ तान्ने कार्य गर्न सरकारलाई सुझाव दिएका छन् ।  ट्वीट गर्दै अध्यक्ष थापाले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै रथ तान्ने कार्य सुचारु गर्न सरकारसंग उनले अनुरोध गरेका हुन् ।

थापाले लेखेका छन्, ‘सम्बन्धित पक्षसँग छलफल र समन्वय गरी तथा स्वास्थ्य र सुरक्षा मापदण्ड पालना गर्दै ललितपुरको मच्छिन्द्रनाथ रथ तान्ने कार्य सुचारु गर्न सरकारसंग अनुरोध छ । सांस्कृतिक परम्परालाई निरन्तरता दिने काममा अवरोध र दमन हुनुहुँदैन । धर्म र संस्कृतिको रक्षाका साथै विद्यामान परिस्थितिमा संयम राख्न सबैमा अपिल छ ।’

रथ तान्ने क्रममा बिहीबार स्थानीय र प्रहरीबीच झडप भएको थियो । त्यसक्रममा दुबैतर्फका केही घाइते भएका छन् । झडपपछि स्थिति नियन्त्रणबाहिर जान सक्ने भन्दै स्थानीय प्रशासनले शुक्रबार कफ्र्यू आदेश जारी गरेको छ ।