काठमाडौं । देशमा अलौकिक रुपमा बढिरहेको भ्रष्टाचार, अव्यवस्थित क्वारेन्टाइन लगायतका विरुद्धमा राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले विरोध र्याली तथा कोणसभा सम्पन्न गरेको छ । बबरमहलमा भेला भएका राप्रमसंका नेता, कार्यकर्ताहरुले सामाजिक दुरी कायम गर्दै निकालेको विरोध र्याली नयाँ वानेश्वर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै पूर्व राज्यमन्त्री एवं राप्रमसंकी अध्यक्ष कुन्ति कुमारी शाहीले कोरोना रोकथाम तथा नियन्त्रणमा ध्यान नदिएर सरकार भ्रष्टाचारमा मात्र केन्द्रित भएको बताइन् । मन्त्रीक्वार्टरमा जिमखाना र राष्ट्रपति कार्यालयमा कोमल गलैंचा विच्छ्याउनुको सट्टा अव्यवस्थित रहेका क्वारेन्टाइनलाई व्यवस्थित गर्नेतर्फ सरकारले समयमा ध्यान दिएको भए कुनै पनि महिला क्यारेन्टाइनमै बलात्कारको शिकार हुनुपर्ने थिएन भन्दै पूर्व राज्यमन्त्री शाहीले क्वारेन्टाइनमा बसेकाहरुलाई घृणित व्यवहार गरिएकोमा सरकारको विरोध गरेकी थिइन् ।
कोणसभामा राप्रमसंका नेतृहरु मीना सुवेदी, विजयकला राई, ३ नं. प्रदेशसभा सदस्य रिता माझी, कुमारी स्याङ्तान लगायतले सम्बोधन गरेका थिए ।
विरोध र्यालीमा सहभागी महिलाहरुले महिलामैत्री क्वारेन्टाइनको व्यवस्था गर, लकडाउनमा भएको महिला हिंसा वृद्धिको अन्त्य गर, क्वारेन्टाइनमा बलात्कृत भएकी महिलालाई क्षतिपूर्तिको व्यवस्था गर, भ्रष्टाचारीलाई कारवाही गर, पीसीआर परीक्षणको दायरा बढाउ, गरिब जनतालाई राहतको व्यवस्था गर, क्वारेन्टाइनमा बसेका महिला तथा बालबालिकालाई पोषणयुक्त खानाको व्यवस्था गर लगायतका नारा लगाउँदै सरकारको विरोध गरेका थिए ।







प्रतिक्रिया