मुस्लिम समुदायको पर्व इदुल फित्रमा सरकारले सार्वजनिक विदा दिने


काठमाडौं । सरकारले संविधान संशोधनका लागि संघीय संसदमा प्रस्ताव दर्ता गर्ने भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको अनुसूची ३ लाई संशोधन गर्ने निर्णय गरेको हो । अनुसूची ३ मा रहेको नेपालको निशान छापभित्र रहेको नक्सालाई वास्तविक सीमा अनुसार मिलाउन संविधान संशोधन गर्ने निर्णय भएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।

उनले अनुसूची ३ र निशान छापलाई परिमार्जन गर्न मात्रै संविधान संशोधनको प्रस्ताव पेश हुने बताए । लिपुलेक, लिम्पियाधुरा र कालापानी समेत समेटेर नेपालको नयाँ नक्सा जारी भएपछि संविधान संशोधनको आवश्यकता परेको हो । नक्सा जारी गरेपछि उत्पन्न विवाद समाधानका लागि सरकारले वार्ताको प्रयास गरिरहको उनले बताए ।

कुटनीतिक माध्यमबाट वार्ता गरी समस्या समाधान हुनेमा सरकार आशावादी रहेको खतिवडाले बताए । तथ्य, प्रमाणहरुका आधारमा छिमेकीहरुसँग वार्ता गरेर समस्या समाधान गर्ने प्रयास हुने र यसलाई अन्तर्राष्ट्रियकरण गर्नेबारे नसोचेको बताए । त्यस्तै बैठकले मुस्लिम समुदायको पर्व इदुल फित्रमा सार्वजनिक विदा दिने निर्णय पनि गरेको छ । मुस्लिम धर्मगुरुहरुको सल्लाह अनुसार विदाको दिन तोकिने उनले बताए ।

केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउने अध्यादेश २०७७ लाइ प्रतिस्थापन गर्ने बिधेयक संघीय संसदमा पेश गर्ने निर्णय पनि गरिएको छ । यसअघि सरकारले खारेज गरेको दल विभाजन खुकुलो बनाउने र संवैधानिक परिषदसम्बन्धी अध्यादेशलाई ध्यानमा राखी साविककै व्यवस्था जगाउने प्रस्ताव संसदमा लैजाने निर्णय गरेको प्रवक्ता खतिवडाले बताए ।