कोरोना परीक्षणको दायरा बढाउन सरकारलाई राष्ट्रियसभाका सांसदहरुको सुझाव


काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काग्रेसले कोरोना भाइरसको सम्भावित जोखिम नियन्त्रण तथा राष्ट्रियताको सवालमा सधै सरकारलाई सहयोग गर्न चाहेको स्पष्ट पारेको छ । राष्ट्रियसभाको बुधबारको बैठकमा नेपाली काँग्रेसका जीतेन्द्रनारायण देवले कोरोना भाइरसको सम्भावित जोखिम तथा राष्ट्रियताको सवालमा सरकारले काम नै नगरेको भन्ने कुरा प्रतिपक्षले नगरेको स्पष्ट पारे ।

नेपालको स्वाभिवमान, स्वतन्त्रता र नेपाली जनताको बाँच्न पाउने अधिकार महत्वपूर्ण भएको र विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउनुपर्ने माग मात्र आफुहरुको रहेको उनले बताए । कोरोना भाइरसको जोखिमबाट नेपालको छिमेकी राष्ट्र भारतमा आठ लाख नेपाली, कुवेत, मलेशियालगायत देशबाट भोकमरी र कामविहीन भएका नेपालीलाई मात्र ल्याउनुपर्छ भन्ने विपक्षीको माग भएको उनले बताए ।

सांसद देवले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार क्वारेन्टिन बनाउन आग्रह गर्दै विपद्का बेलामा प्रतिक्षले सरकारलाई सहयोग गर्ने बताए । त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का रामनारायण बिडारीले नेपाल–भारतको सिमानामा रहेको भूमि अन्तराष्ट्रिय कानून र कूटनीतिक पहलमार्फत जतिसक्दो छिटो फिर्ता गर्नुपर्ने सरकारलाई सुझाव दिए ।

उनले अन्तराष्ट्रिय कानूनअनुसार संयुक्त राष्ट्रसङ्घको सदस्य राष्ट्र भएको हुनाले सीमाको तथ्यका आधारमा नेपालको मिचिएको भूमि फिर्ता गर्नुपर्ने बताए । त्यस्तै अन्य राष्ट्रियसभा सदस्यहरुले परीक्षण बढाउनुपर्ने, विदेशमा अलपत्र नेपालीहरुको उद्धार गर्नुपर्ने, सम्पूर्ण प्रदेशमा आवश्यक स्वास्थ्य उपकरणको उचित व्यवस्था गर्न माग गरेका थिए ।

बैठकले ‘नेपाल विशेष सेवा विधेयक, २०७६ लाई सर्वसम्मतिले पारित गरेको छ । बैठकले ‘बीउबिजन (दोस्रो संशोधन) विधेयक, २०७६’ र ‘बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५’ लाई सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा विधायन व्यवस्थापन समितिमा सभापति परशुराम मेघी गुरुङले ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेश गर्नुभयो । युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले राष्ट्रियसभाबाट पारित गरी प्रतिनिधिसभामा पठाइएको ‘राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५ लाई प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियो’ भन्ने प्रस्ताव पेश गरे । राष्ट्रियसभाको अर्को बैठक यही जेठ १२ गते ११ बजे बजे बस्नेछ ।