भूमि अतिक्रमणको विरोधमा नेविसंघद्वारा सबै जिल्ला प्रशासनमा ज्ञापन पत्र
काठमाडौं । लिपुलेकलगायतका नेपाली भूमिमा भारतले गरेको अतिक्रमणको विरोधमा नेपाल विद्यार्थी संघले मंगलबार ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । लिपुलेकमा भारतद्वारा सडक निर्माण, नेविसंघ प्रदर्शनका क्रममा भएको धरपकड र गिरफ्तारी र सन् २०१५ मा भारत–चीनबीच भएको सम्झौता खारेजीको माग राख्दै मंगलबार ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइएको नेविसंघले जनाएको छ ।
काठमाडौंमा नेविसंघ काठमाडौंले जिल्ला प्रशासन कार्यालयमा पुगी ज्ञापन पत्र बुझाइएको नेविसंघ काठमाडौंका कार्यबहाक अध्यक्ष जिवन श्रेष्ठले जानकारी दिए । नेपालको सीमा मिचिसक्दा पनि नेपाल सरका बेखबर रहेको भन्दै उहाले यसमा सरकारले बिशेष ध्यान दिनुपर्ने उनले बताए ।
त्यस्तै नेविसंघका निर्वतमान केन्द्रीय सदस्य प्रेम बहादुर शाहीले पहिलो चरणको आन्दोलन स्वरुप ज्ञापन पत्र बुझाएको भन्दै सीमा रक्षाका लागि सरकार गम्भीर नभए आन्दोलन चर्काउने चेतावनी दिए । यसअघि शुक्रबार भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने सडकको उद्घाटन गरेपछि देशभर त्यसको विरोध भइरहेको छ ।