कांग्रेसमा उम्मेदवार चयन गर्ने जिम्मा पदाधिकारीलाई
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले उपनिर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवार चयन गर्ने जिम्मेवारी पार्टीका पदाधिकारीलाई दिएको छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टी केन्द्रीय कार्य समिति बैठकले आगामी मंसीर १४ गते हुने उपनिर्वाचनको उम्मेदवारी चयन गर्ने जिम्मेवारी पार्टीका पदाधिकारीलाई दिने निर्णय गरेको हो ।
वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलासहितको पदाधिकारीलाई उपनिर्वाचनको उम्मेदवार चयनको जिम्मेवारी बैठकले दिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
उनले संसदीय बोर्ड नभएकाले पार्टीको विधान बमोजिम काम गर्ने जिम्मेवारी पार्टीको पदाधिकारी बैठकलाई दिने निर्णय गर्नु परेको बताए ।
नेपाली काँग्रेसले पार्टी संसदीय बोर्डमार्फत निर्वाचनको उम्मेदवार चयन गर्दै आएको थियो । तर हाल सो बोर्ड नरहेपछि त्यसको जिम्मेवारी पार्टी पदाधिकारी बैठकलाई दिने निर्णय गरेको हो ।