काठमाडौँ । नेकपा एमाले बुधबारदेखि सुरु हुने राष्ट्रिय भेलालाई आगामी स्थानीय निर्वाचनको तयारी र पार्टी सङ्गठन परिचालनमा केन्द्रित गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय भेलालाई स्थानीय निर्वाचनको तयारी, पार्टी सङ्गठनको सुदृढीकरण तथा परिचालनका विषयमा केन्द्रित गर्ने निर्णय गरेको हो।
एमाले उपमहासचिव लेखराज भट्टले राष्ट्रिय भेलाको तयारीबारे स्थायी कमिटीमा छलफल भएको जानकारी दिए । उनका अनुसार भेलामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिक अवस्था, पार्टीको भावी कार्यदिशा र पार्टीले आगामी दिनमा गर्नुपर्ने कामका विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् । त्यसैगरी, वरिष्ठ नेता विद्यादेवी भण्डारीले मुलुकको समसामयिक अवस्था र पार्टीको कार्यभारसम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
स्थायी कमिटी बैठकले मंसिर ५ गतेका लागि तय भएको केन्द्रीय कमिटी बैठक एक दिनअघि सारेर मंसिर ४ गते बस्ने निर्णयसमेत गरेको उपमहासचिव भट्टले बताए । एमालेका अनुसार बुधबारदेखि सुरु हुने राष्ट्रिय भेलामा देशभरबाट ३ हजार ४१४ जना सहभागी हुनेछन् ।

प्रतिक्रिया