चार महिनामा ४ खर्ब ९६ अर्ब खर्च, पुँजीगत खर्च ७.५३ प्रतिशतमा सीमित


काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकमा सरकारले कुल बजेटको २३.३७ प्रतिशत खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक मसान्तसम्ममा सरकारले चार खर्ब ९६ अर्ब ५२ करोड ११ लाख रुपैयाँ खर्च गरेको हो ।

सरकारले चालु आर्थिक वर्षका लागि १६ खर्ब ४२ अर्ब छ करोड ३७ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेकोमा पहिलो चौमासिकसम्म तीन खर्ब ८४ अर्ब सात करोड रुपैयाँ प्राप्त गरेको छ । यो वार्षिक लक्ष्यको २३.३९ प्रतिशत हो ।

खर्चतर्फ चालु शीर्षकमा तीन खर्ब ४६ अर्ब ७५ करोड २४ लाख रुपैयाँ खर्च भएको छ । यो यस शीर्षकमा विनियोजित बजेटको २७.२९ प्रतिशत हो ।

त्यस्तै, पुँजीगततर्फ ३२ अर्ब ४४ करोड ८६ लाख रुपैयाँ अर्थात् विनियोजित बजेटको ७.५३ प्रतिशत मात्रै खर्च भएको छ । वित्तीय व्यवस्थातर्फ भने एक खर्ब १७ अर्ब ३२ करोड रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ । यो विनियोजित बजेटको २७.७६ प्रतिशत हो ।

राजस्व सङ्कलनतर्फ सरकारले वार्षिक लक्ष्यको २३.५८ प्रतिशत प्राप्त गरेको छ । यस अवधिमा तीन खर्ब ७२ अर्ब ७१ करोड ८० लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

त्यस्तै, वैदेशिक अनुदानतर्फ वार्षिक लक्ष्यको १४.५ प्रतिशत अर्थात् आठ अर्ब ६७ करोड ३५ लाख रुपैयाँ प्राप्त भएको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।