दानबहादुर कार्कीको रिटमा बुधबार सुनुवाइ हुने


काठमाडौं । सर्वोच्च अदालतले बुधबार निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्ने भएको छ । सरकारले १८ कात्तिकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो ।

तर त्यसलाई अस्वीकार गर्दै कार्कीले कात्तिक २० गते रिट दायर गरेका थिए । तिहार बिदा परेकाले सोमबारका लागि पेसी तोकिएको थियो । तर सरकारले सोमबार छटका अवसरमा बिदा दिएकाले सुनुवाइ हुन सकेको थिएन । मंगलबार अदालत खुलेपछि सर्वोच्च प्रशासनले बुधबारका लागि प्रारम्भिक सुनुवाइको मिति तोकेको हो ।

कार्कीले प्रहरी ऐन २०१२ र प्रहरी नियमावली २०७१ विपरीत आफूलाई पदबाट हटाइएको भन्दै महानिरीक्षक पदमा पुनर्वहालीका लागि र नवनियुक्त महानिरीक्षकलाई कामकाज नगर्न अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका छन् सरकारले डा. मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गर्दै कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा तानेको थियो ।