परिवर्तनको नारामा सत्ता कब्जा, सुशासनको सपना अलपत्र !


देवेन्द्रराज ढकाल ।

१) राणा निरङ्कुश र अत्याचारी थिए, उनिहरुले राज्यको सम्पत्ति पारिवारिक रुपमा कुम्ल्याए भनेर ००७ सालको कथित क्रान्ति भयो । क्रान्तिकारी सत्तामा पुगे तर राणासँगै मिलेर सत्ता चलाए । न राणालाई कुनै कारबाही भयो न राणाले कब्जा गरेको सम्पत्ति नै खोसियो ।

२) पञ्च भ्रष्ट थिए भन्ने नाराका साथ ०४६ मा आन्दोलन गराइयो । परिवर्तनपछि पालोपालो काङ्ग्रेस एमाले सत्तामा बसे । पूर्वपञ्चलाई पनि सत्तारोहण गराए। कसैलाई कारवाही भएन ।

३) बहुदलवादीहरुलाई भ्रष्टाचारको आरोपसहित माओवादीले दस वर्षसम्म लुट र आतंक मच्चाए । परिवर्तन भयो माओवादी सत्तामा पुग्यो तर कीर्तिमानी रुपमा आलोपालो देशको चरम दोहन गरियो । कसैलाई कारबाही भएन ।

४) ०८२ सालमा खास उमेर समूहको नाममा विध्वंसात्मक आन्दोलन भयो। भ्रष्टाचार र कुशासनविरुद्ध भनिएको आन्दोलन पछि पुराना नेताहरु मध्य केहीलाई सत्ताबाट हटाइयो, केहीलाई धोइपखाली गरेर अँगालो हालियो, सकियो । त्यही प्रणाली र त्यही संयन्त्रभित्र प्रधानमन्त्री र केही थान सांसद फेरिँदैमा तत्काल परिवर्तन भैहाल्ने अवस्था पनि देखिँदैन ।

नेपालमा भएका सबै क्रान्ति वा आन्दोलन सम्पन्न भएपछि तत्कालिन आन्दोलनकारीको सत्तारोहण लगत्तै जनताका नाममा लगाइएका सबै नारा र प्रलाप बिलाएका छन् । लाटासोझाले गरेको आशा चकनाचुर भयो । आफ्नो लाटोपन बारे बुझेर केही व्यक्तिहरु पछि पछुताए, नबुझ्नेहरु चाहिँ पूर्ववत कुनै दलको झोले बनेर पछि लागिरहे । अरु केही हुनेवाला थिएन, भएन पनि । भ्रष्टाचार र कुशासनका बिरुद्ध गरिएका भनिएका सबै आन्दोलन पछि भ्रष्टाचार पहिलेभन्दा झनै मौलायो फैलियो ।
यो जसले हान्यो उसले जान्यो भनेर मान्ने समाज हो । यहाँ आफू हुन नपाउँदा अरुलाई गाली गर्छन्, मौका आउँदा आफू पनि पहिलेकाले भन्दा पनि बढी मनपरि गर्छन् । इतिहासले त्यही देखाउँछ ।