प्रधानमन्त्रीको नजर यता परोस्


रवीन्द्र मिश्र

बबरमहलस्थित सडक विभागको भदौ २४ गते जलेको कार्यालय भएर हिँडिरहेको थिएँ । त्यो भव्य राणाकलीन दरबारको हाल देखेर मन कटक्क भयो। सिंहदरबार सम्झिएँ । सिंहदरबारको गद्दी बैठक सम्झिएँ, जुन एशियाकै सबैभन्दा शानदारमध्येको मानिन्थ्यो । भूकम्पपछिको सिंहदरबार पुनर्निर्माणका केही आन्तरिक रूप सम्झिएँ । अनि सोचेँ अब सिंहदरबार पुनर्निर्माण हुँदा पनि विभिन्न, मूलतः आर्थिक, कारण देखाउँदै गाइजात्रा तरिकाले पुनर्निर्माण गरिने छ। भित्र कोठाहरूमा टन्नै प्लाई र फरमाइका प्रयोग गरिने छ। अनि २५/३० हजार रूपियाँका कला नै नमानिने सस्ता पेन्टिङ लेराएर झुण्याइने छ।

त्यो पुरानो कला र वैभव सदाका लागि मर्नेछ । तपाईँ यसबारे अलिकति सजग भइदिने हो भने भदौ २४ मा जलेका सिंहदरबार र केही ऐतिहासिक महत्वका भवनहरूलाई पुरानै वैभवमा पुनर्निर्माण गर्न सकिन्छ । ती भवनहरू मूलत योरोपेली कला र वास्तुकलाबाट प्रेरित हुनाले योरोपेली देशहरूसँग पुरानै वैभव पुनस्र्थापित हुनेगरी पुनर्निर्माणमा सहयोग गर्न अनुरोध गरे हुन्छ। अझ सिंहदरबारमा २०३० सालमा आगो लाग्नुअघिको रूपमा फर्काउन सकिन्छ।

२०७२ सालको भूकम्पपछि ऐतिहासिक मन्दिर त हामीले विदेशलाई बनाउन लगायौँ भने योरोपेली कला र वास्तुकलाले पूर्ण ती भवनहरू पुरानै स्वरूपमा निर्माण गर्न योरोपेली देशहरूको सहयोग माग्न अन्यथा हुने छैन । संभवतः उनीहरूले सो कार्यमा रूची पनि देखाउने छन् । योरोपमा कलैकलाले पूर्ण सयौँ वर्ष पुराना ऐतिहासिक भवनहरू त पुरानै स्वरूपमा फर्काइएका छन् भने हाम्रा राणाकलीन भवनहरूलाई पुरानै वैभव प्रदान गर्न नसकिने कारण नै छैन । त्यसतर्फ सोच्ने हो कि ?