काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टी सभापति गगन थापालाई शुभकामना दिँदै राजनीतिक यात्रा लक्ष्य प्राप्ति नभई सुरुवात मात्र भएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत शर्माले देशलाई गन्तव्यमा पुर्याउन अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गरेका छन् । उनले चुनौतीहरूको संयमपूर्वक सामना गर्दै फरक मत र मनहरूलाई जोड्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
विगतका गौरवलाई पछ्याउँदै कमजोरी सच्याउनुपर्ने र इतिहासप्रति इमानदार रहँदै देशको समुन्नति सम्भव बनाउनुपर्ने उनको भनाइ छ ।
‘हामीले सक्नुपर्छ र सक्नेछौँ,’ शर्माले लेखेका छन् । उनले अपार विश्वास र दृढ साथसहित आफू गगन थापाको साथमा उभिएको तथा आफूहरू लामबद्ध रहेको उल्लेख गर्दै बलियो नेतृत्वका लागि शुभकामना दिएका छन् ।
शर्माले भनेका छन्, ‘अपार विश्वास र दृढ साथका साथ, उभिएको छु साथमा, लामबद्ध छौँ साथमा । लु ब्रदर–बलियो कमान्डका लागि शुभकामना ।’

प्रतिक्रिया