विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो, १६५ देशमध्ये ९० औँ स्थानमा


काठमाडौँ । नेपाल आर्थिक स्वतन्त्रताको सूचकमा १६५ क्षेत्राधिकारमध्ये ९०औँ स्थानमा परेको छ । ‘इकोनोमिक फ्रिडम अफ द वल्र्डः २०२६ वार्षिक प्रतिवेदन’ अनुसार नेपाल ९०औँ स्थानमा परेको हो ।

क्यानडाको फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउन्डेसनले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपाल गत वर्षको तुलनामा एक स्थान तल झरेको हो। गत वर्ष नेपाल ८९औँ स्थानमा थियो ।

नेपालले आर्थिक स्वतन्त्रतामा १० मध्ये ६.५९ अंक प्राप्त गरेको छ। वरियतामा एक स्थान घटे पनि नेपालको स्कोर भने कोभिड–१९ महामारीका समयमा भएको गिरावटबाट पूर्ण रूपमा सुधार भएको प्रतिवेदनले जनाएको छ।
सन् २०२० मा नेपालको आर्थिक स्वतन्त्रताको स्कोर ६.३१ रहेकोमा सन् २०२६ मा बढेर ६.५९ पुगेको छ। सन् २०१९ मा भने नेपालको स्कोर ६.५२ थियो।