काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले कम्युनिस्ट आन्दोलनको वैचारिक पुनर्गठन र वामपन्थी एकताका लागि ‘समाजवादी जागरण अभियान’ घोषणा गरेका छन् ।
सोमबार काठमाडौँमा पत्रकार सम्मेलनमार्फत खनालले पछिल्लो समय कम्युनिस्ट आन्दोलनमा वैचारिक बहस, राजनीतिक प्रशिक्षण र सैद्धान्तिक स्पष्टता कमजोर हुँदै गएको भन्दै त्यसलाई पुनर्जीवित गर्न अभियान सुरु गरिएको बताए।
खनालको नेतृत्वमा शनिबार भएको एक भेलामा नेकपासहित विभिन्न वामपन्थी दलसँग आबद्ध ७० भन्दा बढी नेता सहभागी भएको जनाइएको छ। भेलाले वर्तमान कम्युनिस्ट आन्दोलनको अवस्थाबारे समीक्षा गर्दै वैचारिक तथा राजनीतिक आधारमा पुनर्गठनको आवश्यकता औँल्याएको थियो।
अभियानको तत्कालीन उद्देश्य नयाँ राजनीतिक दल गठन गर्नु नभई कम्युनिस्ट आन्दोलनलाई पुनर्गठित गर्दै विभिन्न वामपन्थी समूहबीच वैचारिक एकता र सहकार्यको वातावरण निर्माण गर्नु रहेको जनाइएको छ ।
खनालले अभियान कुनै समूह वा दललाई विभाजन गर्ने प्रयास नभएको स्पष्ट पार्दै यसलाई छरिएका वामपन्थी शक्तिलाई एकताबद्ध गर्ने पहलका रूपमा प्रस्तुत गरेका छन्।
भेलाबाट पारित प्रस्तावमा कम्युनिस्ट आन्दोलनलाई ‘क्रान्तिकारी कार्यदिशाका आधारमा पुनर्गठन र पुनर्संरचना’ गर्दै वैचारिक तथा राजनीतिक एकताको आधार निर्माण गर्न सबै कम्युनिस्ट समूहलाई आह्वान गरिएको छ।
समाजवादी जागरण अभियान घोषणालाई तत्काल पार्टी विभाजनको औपचारिक कदमभन्दा नेकपाभित्र चलिरहेको वैचारिक बहस र नेतृत्वसम्बन्धी असन्तुष्टिलाई थप संगठित गर्ने प्रयासका रूपमा हेरिएको छ।





प्रतिक्रिया