काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले जनताको जनजीवनको पक्षमा ठोस उपलब्धि हुन नसकेको बताएका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा थापाले विश्वमा देखिएका अनेकौँ सङ्कटसँगै नेपालमा देखिएका समस्याको समाधानका पक्षमा सरकारको पहलकदमी कमजोर देखिएको बताएका हुन् ।
उनले गत फागुन २१ गतेको निर्वाचनमा आफूहरूले भोगेको पराजयको स्वीकारोक्ति गरिएको तर आत्मसमर्पण नगरी त्यसलाई सिकाइका रूपमा लिने स्पष्ट गरे ।
उनले भने,‘पराजयको स्वीकारोक्ति आत्मसमर्पण कदापि होइन । हामीले यसलाई गम्भीर शिक्षा तथा भावी विजयका लागि सुनौलो अवसरका रूपमा आत्मसात् गरेका छौँ।’
उनले पर्याप्त आधारबिना पूर्व उच्चपदस्थ व्यक्तिहरूलाई पक्राउ गरिएकामा विरोध जनाउँदै सुशासन र पारदर्शिताका लागि घोषणा गरिएअनुसार काम नभएको बताए ।
थापाले पछिल्लो विश्व राजनीतिक घटनाक्रमलाई पनि आफ्नो सम्बोधनको विषय बनाए। विश्व अहिले एआई र अल्गोरिदमको युगमा प्रवेश गरिसकेको उल्लेख गर्दै उनले विश्व व्यवस्था संक्रमणकालीन उथलपुथलबाट गुज्रिरहेको दाबी गरे।
विश्वमा भइरहेका राजनीतिक, आर्थिक र सांस्कृतिक घटनाक्रमको विश्लेषण गर्दा नयाँ विश्व व्यवस्था निर्माणका विभिन्न प्रवृत्ति देखिएको थापाको भनाइ थियो। उनले सैन्य हस्तक्षेप, आक्रमण, सरकार परिवर्तन, नागरिक अधिकारको हनन तथा राज्यका संस्थामाथि हस्तक्षेपजस्ता गतिविधिमार्फत नयाँ विश्व व्यवस्था निर्माण गर्ने प्रयास भइरहेको आरोप लगाए।
नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई समेत उनले यही अन्तर्राष्ट्रिय परिवेशसँग जोडेर व्याख्या गरे। गत वर्ष भदौ २३ र २४ गते भएको हिंसात्मक घटनापछि नागरिक सरकार तथा प्रतिनिधि सभा विघटन हुनु नयाँ विश्व व्यवस्था पुनर्गठनको ‘नेपाल संस्करण’ भएको उनको दाबी थियो।
थापाले एमालेले त्यतिबेला नै उक्त सत्ता परिवर्तनको विरोध गरेको र घटनामा संलग्न दोषीमाथि कारबाहीको माग गरेको बताए। विघटित प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै उनले एमालेको राजनीतिक अडान स्पष्ट रहेको बताए।
यसैबीच, थापाले प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारको कार्यशैलीप्रति पनि आलोचना गरे। सरकार गठन भएको छ महिना बितिसक्दा प्रतिनिधिसभा सत्तापक्षको सरकारको ‘प्रतिछायाँ’ जस्तो मात्र बनेको उनको आरोप थियो। सत्तापक्षले प्रतिपक्षलाई पूरक नभई बाधकका रूपमा हेरेको भन्दै उनले विधेयकमा सामान्य संशोधन गर्नसमेत नदिएको गुनासो गरे ।

प्रतिक्रिया