काठमाडौँ । भोटेकोसी बाढीबाट प्रभावित नागरिक, विद्यार्थी, अभिभावक तथा विद्यालयको राहत र पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले नेसनल प्याब्सनले १ करोड १ रुपैयाँ सहयोग गरेको छ ।
नेसनल प्याब्सनले राज्यको राहत तथा पुनःस्थापना अभियानमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको हो । बाढीबाट ठूलो जनधनको क्षति हुनुका साथै विद्यार्थी, अभिभावक तथा विद्यालयसमेत प्रभावित भएपछि संस्थागत रूपमा सहयोग गरिएको नेसनल प्याब्सनले जनाएको छ ।
रकम हस्तान्तरण कार्यक्रममा नेसनल प्याब्सनका अध्यक्ष सुवास न्यौपाने, वरिष्ठ उपाध्यक्ष शम्भु अधिकारी, उपाध्यक्ष बिष्णु पराजुली, महासचिव प्रकाश खड्का, सचीव बेद प्रसाद पन्त, मनोज श्रेष्ठलगायत पदाधिकारी तथा प्रतिनिधिको उपस्थिति थियो ।
भोटेकोसी बाढीका कारण विभिन्न क्षेत्रमा जनजीवन प्रभावित हुनुका साथै विद्यालय भवन, शैक्षिक सामग्री र अन्य पूर्वाधारमा समेत क्षति पुगेको छ । प्रभावित विद्यार्थी र उनीहरूका परिवार कठिन अवस्थामा रहेकाले राहत तथा उद्धारसँगै शिक्षा क्षेत्रमा परेको क्षति न्यूनीकरण र विद्यार्थीको सिकाइ निरन्तरता कायम गर्न तत्काल सहयोग आवश्यक रहेको नेसनल प्याब्सनले जनाएको छ ।
नेसनल प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले विपद्को समयमा राज्यको राहत तथा उद्धार अभियानमा सहयोग गर्नु निजी क्षेत्रको सामाजिक उत्तरदायित्व भएको बताए । प्रभावित नागरिक तथा विद्यार्थीको कठिन अवस्थालाई मध्यनजर गर्दै संस्थागत रूपमा योगदान गरिएको उनको भनाइ छ । उनले प्रभावित विद्यालयको शैक्षिक गतिविधि पुनः सञ्चालन, विद्यार्थीको पठनपाठन निरन्तरता तथा क्षतिग्रस्त शैक्षिक संरचनाको पुनःस्थापनामा आवश्यक सहयोग र समन्वय गरिने बताए ।
नेसनल प्याब्सनले विभिन्न विपद्का समयमा राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्दै आएको जनाएको छ । यसपटकको सहयोग पनि बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन राज्यसँग सहकार्य गर्ने उद्देश्यले गरिएको हो ।
बाढीपछि प्रभावित क्षेत्रमा राहत तथा उद्धारसँगै विद्यालय र विद्यार्थीको अवस्थाबारे समेत गम्भीर चासो बढेको छ । यस्तो अवस्थामा शिक्षण संस्था र विद्यार्थीको हितलाई समेत प्राथमिकतामा राखेर गरिएको नेसनल प्याब्सनको सहयोगले विपद्मा निजी क्षेत्रको सामाजिक उत्तरदायित्व र राज्यसँगको सहकार्यलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया