काठमाडौं । नेपाली कांग्रेसको इतरपक्षले असोज ३ गतेदेखि विधि र प्रक्रिया मिचेर सुरु गर्ने भनिएको अधिवेशन तथा महाधिवेशनमा सहभागी नहुन नेता–कार्यकर्ता तथा शुभेच्छुकलाई आग्रह गरेको छ ।
पूर्वसपभाति शेरबहादुर देउवा पक्षका महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले सोमबार पत्रकार सम्मेलन गरी सभापति गगन थापा नेतृत्वले बोलाएको महाधिवेशन प्रक्रियामा सहभागी नहुन आग्रह गरेका हुन् ।
उनले त्यसको सट्टा १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असोज १५ गतेदेखि सुरु हुने वडा तहलगायत विभिन्न तहका अधिवेशनमा सक्रिय सहभागिता जनाउन आह्वान गरे । साथै उनले मंसिर २१, २२ र २३ गते हुने केन्द्रीय महाधिवेशन सफल बनाउन आग्रह गरेका छन् ।
पत्रकार सम्मेलनमा कोइरालाले पार्टीभित्र देखिएको वर्तमान विवाद कुनै व्यक्ति, समूह वा पदको विषय मात्र नभई पार्टीको वैधानिकता, लोकतान्त्रिक संस्कार, संगठनात्मक एकता र भविष्यसँग जोडिएको गम्भीर राजनीतिक प्रश्न भएको बताए ।
उनले पार्टी विभाजनको दिशातर्फ जाने कुनै पनि कदम रोक्न तथा संवाद र सहमतिमार्फत समाधान खोज्न आफूहरूले निरन्तर आग्रह गरेको बताए ।



प्रतिक्रिया