महाधिवेशनमा कोही नछुट्ने गरी सहभागिता सुनिश्चित गर्ने कांग्रेसको निर्णय


काठमाडौं । नेपाली कांग्रेसले असोज ३ र ४ गतेदेखि सुरु हुने १५औँ महाधिवेशन प्रक्रियामा उत्साहपूर्वक सहभागी हुन पार्टीका सम्पूर्ण क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान गरेको छ।

सभापति गगनकुमार थापाको सभापतित्वमा आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते वडा अधिवेशन हुने तथा असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन आयोजना हुँदैछ ।

बैठकले महाधिवेशनलाई सांगठनिक प्रक्रिया मात्रै नभई राजनीतिक महाउत्सवका रूपमा अघि बढाउनुपर्नेमा जोड दिँदै सबै तहका अधिवेशनमा सक्रिय सहभागिता जनाउन पार्टी सदस्यलाई आग्रह गरेको छ।

यस्ता छन् बैठकका निर्णय

नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन
स्वदेश र विदेशमा रहेका सबै पार्टी सदस्यहरूमा आह्वान

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सभापति गगन कुमार थापाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा आज बस्यो । बैठकको निर्णयहरू देहाय बमोजिम रहेको छ–

१. २०८३ असोज ३ र ४ गते वडाबाट प्रारम्भ भइ असोज १६ देखि १९ सम्म काठमाडौंमा आयोजना हुने नेपाली कांग्रेसको १५ औं महाधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । असोज १६ गते १ बजे खुल्ला मञ्चमा उदघाटन सत्र प्रारम्भ हुनेछ । पार्टीको सांगठनिक र राजनीतिक जीवनमा महाधिवेशन प्रक्रिया मात्र नभएर महाउत्सब पनि हो । अत: ३ र ४ गते हुने वडा अधिवेशन र अन्य तहगत अधिवेशनमा उत्साहजनक रुपमा सहभागी हुन कार्यसम्पादन समितिको यो बैठक नेपाली कांग्रेस सम्पूर्ण क्रियाशील सदस्यहरू, समर्थक तथा सुभेच्छुकहरूलाई हार्दिक आह्वान गर्दछ । आ-आफ्नो तहले विधान बमोजिम निर्वाह गर्नुपर्ने जिम्मेवारी अनुसार निर्वाचन समितिसंग समन्वय गरी तहगत अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न सबै तहका कार्यसमितिलाई निर्देश गर्दछ । तोकिएको जिम्मेवारी पुरा नगरेमा विधान बमोजिम बैकल्पिक व्यबस्था हुनेछ।

२. यसबीचमा नेपाली कांग्रेसको १५औं महाधिवेशन प्रक्रियालाई अगाडि बढाउन, सदस्यता वितरण, नवीकरण र अद्यावधिक प्रक्रियामा सक्रिय रहने सबै तहका कार्यसमिति र सवैको सहभागितामा महाधिवेशन सम्पन्न होस भन्ने भावनाका साथ पार्टीभित्र संवाद, सहमतिका लागि प्रयास गर्ने, चिन्ता र चासो व्यक्त गर्ने टोलदेखि केन्द्रसम्मका सबै सदस्य, समर्थक शुभचिन्तकप्रति कार्यसम्पादन समितिको यो बैठक धन्यवाद ज्ञापन गर्दछ ।

३. एउटा विशिष्ट राजनैतिक परिस्थितिमा नेपाली कांग्रेसको विशेष महाधिवेशन सम्पन्न भएको थियो । विशेष महाधिवेशन लगत्तै भएको निर्वाचनमा सबै साथीहरू समेट्न केन्द्रीय कार्यसमितिले अधिकतम प्रयास गरेको थियो । निर्वाचन पश्वात नेपाली कांग्रेसको विधानको व्यवस्था, प्रचलित कानुन र नेपालको संविधानमा भएको व्यवस्था तथा विशेष महाधिवेशनले दिएको म्याण्डेट बमोजिम पार्टीको २०८२ चैत्र ११ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले क्रियाशील सदस्यता अद्यावधिक गरी २०८३ असोज १६ गतेदेखि १९ गतेसम्म काठमाडौँमा १५औँ महाधिवेशन गर्ने निर्णय गरेको थियो। पार्टीको निर्णय बमोजिम उत्साहजनक रुपमा सदस्यता अद्यावधिक प्रक्रिया अगाडि बढेको थियो । यद्यपी अद्यावधिक प्रक्रियामा पार्टीका क्रियाशील सदस्यहरू कोही पनि नछुटुन् भन्ने उद्देश्यले पटक-पटक समयावधि थप गरेर र वडाको अधिवेशन कार्यतालिका परिमार्जन गरेर पनि अधिकतम साथीहरूलाई प्रक्रियामा जोडिने वातावरण बनाइएको थियो । जस अनुसार यस अबधिमा विशेष महाधिवेशनमा सहभागि नभएका पार्टीका थुप्रै साथीहरू केन्द्रदेखि वडा-टोलसम्म विभिन्न तहमा रहेर सक्रियतापूर्वक अधिवेशन प्रक्रियामा सहभागि हुनुभएको छ, ति सबै साथीहरूको भुमिकालाई यो बैठक सम्मान प्रकट गर्दछ ।

४. केन्द्रीय कार्यसमितिले असोज १६ देखि १९ सम्मका लागि तय गरेको कार्यतालिका बमोजिम महाधिवेशन सम्पन्न गर्नेगरी सबै प्रक्रिया अगाडि वढेको सन्दर्भमा समेत २०८३ साउन २४ गते बसेको बैठकले पुन: पार्टीभित्र व्यापक सहभागिताका लागि संवाद र सहमतिको वातावरण बनाउन पहलकदमी लिने निर्णय गरेको थियो । त्यसै अनुसार अद्यावधिक प्रक्रियामा सक्रिय रहेका साथीहरूको असन्तुष्टी रहँदा रहँदै पनि पार्टी महाधिवेशनमा सबैको उत्साहजनक सहभागिता हुनुपर्छ, कोही पनि छुट्नुहुँदैन भन्ने मान्यताका साथ “पार्टीले १५ औं महाधिवेशनका लागि तहगत नवीकरणको सिफारिस भई २०८२ पौष २१ गतेसम्म नेपाली कांग्रेसको सदस्यता व्यबस्थापन प्रणालीमा प्रविष्ट भएका सदस्यहरू मध्ये विविध कारणले अद्यावधिक गर्न छुट भएका क्रियाशील सदस्यहरूको हकमा पार्टी परित्याग गरेका, अनुशासनको कारवाहीमा परी सदस्यता गुमाएका र प्रचलित कानून बमोजिम पार्टी सदस्यता लिन नमिलेका सदस्यबाहेक अन्य क्रियाशील सदस्यहरूलाई पार्टीको १५ औं महाधिवेशन प्रक्रियामा सहभागी हुन वञ्चित नगरिने” निर्णय गरेको थियो। त्यसपश्चात सबै तहमा अद्यावधिक प्रक्रियामा छुटेका सदस्य साथीहरू अधिवेशनको प्रक्रियामा जोडिइरहनु भएको छ जो सकारात्मक
छ ।

५. यद्यपि, महाधिवेशन प्राविधिक प्रक्रिया मात्र नभएर राजनीतिक महाउत्सव पनि हो। त्यसैले महाधिवेशन प्रक्रियामा सबैको सहज एवं उत्साहपूर्ण सहभागिता गराउने वातावरण निर्माण गर्नु र पार्टीभित्र आपसी संवाद, सहमति र सहकार्यको अधिकतम प्रयास गर्नु केन्द्रीय कार्यसमितिको जिम्मेवारी नै हो। यही कर्तव्यवोधका साथ पार्टीमा देखिएका असहमति र चासोलाई संवाद र सहमतिबाट संवोधन गर्न केन्द्रीय समितिले निरन्तर पहलकदमी लिंदै आएको हो। यस बीचमा अधिवेशन संयोजनका लागि उपयुक्त संयन्त्र बनाउने, सदस्यता व्यवस्थापन केन्द्रीय समिति, केन्द्रीय निर्वाचन समिति, अधिवेशन व्यबस्थापन समिति लगायतमा सबैपक्षको सहभागीता गराउने सन्दर्भमा समेत केन्द्रीय कार्य समितिले अधिकतम लचकताका साथ ती विकल्पलाई समेत स्वीकार गरी निरन्तर सकारात्मक प्रयास गर्दै आएको विदित नै छ ।

६. महाधिवेशन पार्टीको सर्वोच्च निकाय हो। कुनै असहमिति भएमा आफ्नो मत राख्ने र समाधान खोज्ने स्थान महाधिवेशनमा नै हो। अत: पार्टीका कोही पनि साथीहरू महाधिवेशन प्रक्रियामा नछुटुन् र पार्टीमा रहन चाहने प्रत्येक सदस्यले भाग लिने वातावरण बनोस् भन्ने नेपाली कांग्रेस चाहन्छ। १५ औं महाधिवेशनको प्रक्रियामा असोज ३ र ४ गते हुने वडा अधिवेशनमा सहभागी हुन उत्साही पार्टीका सबै साथीहरूप्रति यो बैठक सम्मान व्यक्त गर्दछ। यस सन्दर्भमा १५औं महाधिवेशन प्रक्रियामा सहभागी हुँदा विशेष केन्द्रीय महाधिवेशन सम्पन्न हुनु पूर्व पार्टीका तत्कालिन केन्द्रीय कार्य समितिका साथीहरूलाई केन्द्रीय कार्यसमितिको सदस्यको हैसियतमा सहभागिताका लागि विधान बमोजिम आवश्यक प्रबन्ध गर्ने निर्णय यो बैठक गर्दछ।

७. नेपाली कांग्रेसको विधान, २०१७ (एघारौं संशोधन सहित) को धारा ४ (९) बमोजिम पार्टीका महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित सदस्यता व्यवस्थापन केन्द्रीय समितिद्वारा १५ औं महाधिवेशनको प्रकृयामा सहभागी हुने क्रियाशील सदस्यहरुको नामावली सभापति गगनकुमार थापा समक्ष प्रस्तुत गरिएकोमा सो नामावलीलाई स्वीकृत गर्ने निर्णय गरियो ।

अन्त्यमा, नेपाली कांग्रेसको शक्ति लाखौं लाख सदस्यको एकता, लोकतान्त्रिक संस्कार र जनताको विश्वासमा निहित छ। असोज ३ गते प्रत्येक वडाबाट प्रारम्भ भइ १६ देखि १९ सम्म काठमाडौंको खुल्ला मञ्चमा सम्पन्न हुने नेपाली कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक पुनर्जागरणमा सहभागी हुन सम्पूर्ण सदस्य, समर्थक र शुभेच्छुकहरूमा यो बैठक हार्दिक अपील गर्दछ।

आजको बैठकमा;
• नेपाली कांग्रेसका सभापति गगनकुमार थापा समक्ष नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङले आफ्नो पदबाट दिनु भएको राजीनामा सभापतिले बैठकमा जानकारी गराउनु भएको थियो ।
• बैठकमा सहमहामन्त्रीहरू– फरमूल्लाह मन्सुर, डा. डिला संग्रौला पन्त र योगेन्द्र चौधरी, सदस्यहरु– अर्जुननरसिंह के.सी., महेन्द्र यादव, जीवन परियार, सुरेन्द्रप्रसाद चौधरी, रमेश रिजाल, डा. चन्द्रकान्त भण्डारी, अमृत अर्याल, आङ्गेलु शेर्पा, दिनेशकुमार यादव, अब्दुल सत्तार, राजीव ढुंगाना, भरतकुमार शाह, प्रवक्ता देवराज चालिसे र मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवले आ–आफ्नो धारणा राख्नु भएको थियो ।


जय नेपाल !
प्रदीप पौडेल
महामन्त्री