सिरहामा शिक्षामन्त्री सहभागी कार्यक्रममा किन भयो लफडा ?


काठमाडौँ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलमाथि सिरहमा आक्रमण प्रयास भएको छ । शनिबार सिरहामा आयोजित एक कार्यक्रमका क्रममा सम्बोधन गर्ने क्रममा उनीमाथि आक्रमण प्रयास भएको हो । मन्त्रीले कार्यक्रमलाई सम्बोधन गरिरहँदा होहल्ला गरिएपछि कार्यक्रम नै बिथोलिएको थियो । मन्त्री पोखरेल शैक्षिक कार्यक्रम र पाठ्यक्रम परिमार्जनका लागि मधेस प्रदेशमा सुझाव संकलनका क्रममा सिरहा पुगेका थिए । आफ्नै पार्टीका कार्यकर्ताले आसनग्रहणको विषयमा विवाद गर्दा घटना भएको बताइएको छ । 

तर मन्त्री पोखरेलले भने घटनाको एक मिनेटभन्दा पनि छोटो भिडियो क्लिप काटेर सम्पूर्ण घटनाको सन्दर्भ नै बङ्ग्याउने र अनावश्यक भ्रम फैलाउने प्रयास भएको दाबी गरेका छन् । लोकतान्त्रिक पद्धतिमा असहमति जनाउने अधिकार सबैलाई हुने भन्दै पूरा सन्दर्भ नबुझी छोटो भिडियोका आधारमा धारणा बनाउनु वा नियोजित भ्रमको पछि लाग्नु उचित नहुने बताएका छन् ।

उनले भनेका छन्, ‘कुनै भ्रम वा भ्रामक प्रचारले शिक्षा सुधारको हाम्रो मूल उद्देश्यलाई रोक्न सक्दैन। सो घटनापछि पनि हामी सिरहास्थित बहिरा बालबालिका पढ्ने विद्यालय तथा मदरसा शिक्षालयमा पुगेर विद्यार्थीहरूसँग संवाद ग¥यौँ। आज मात्रै करिब ८–१० वटा विद्यालयमा पुगेर अत्यन्त फलदायी रूपमा सुझाव सङ्कलन गरेका छौँ। भोलि सप्तरीबाट मोरङतर्फ लाग्दैछौँ । मधेश प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको बढ्दो प्रभाव र शिक्षाका क्षेत्रमा भइरहेका सकारात्मक काम देखेर असन्तुष्टि हुनु स्वाभाविक होला। तर, त्यसैका आधारमा भ्रम फैलाउनेभन्दा हामीले गरिरहेको कामलाई जनताले आफैँ मूल्याङ्कन गर्न दिनु राम्रो हुन्छ । हामी यहाँ राजनीतिक स्टन्ट वा हल्ला गर्न होइन, ग्राउन्डमै पुगेर शिक्षा क्षेत्रमा वास्तविक र सकारात्मक परिवर्तन ल्याउन आएका हौँ। हल्लाभन्दा काम ठूलो हो, र हाम्रो काम र नियतको मूल्याङ्कन जनता स्वयंले गर्नेछन्।’