जेनजी सहिदको सम्मानमा आयोजित कार्यक्रममा विवादित धर्मगुरुलाई राखिएको भन्दै अमरेश सिंहको आपत्ति


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश सिंहले जेनजी सहिदको सम्मानमा आयोजित कार्यक्रममा विवादित धर्मगुरुहरूलाई अगाडि राखेर मन्त्रीहरूलाई पछाडि राखिएको भन्दै आपत्ति जनाएका छन् ।

सामाजिक संजालमार्फत सांसद सिंहले संविधान र समावेशिताको मर्मविपरीत सरकार अघि बढेको आरोप लगाउँदै देशका लागि सही काम गर्नेहरूलाई पाखा लगाएर सरकारले कस्तो सन्देश दिन खोजेको भन्दै प्रश्न गरेका हुन् ।

उनले भनेका छन्, ‘विवादित धर्मगुरुहरुलाई जेनजी सहिदको मञ्चमा अगाडि राखेर मन्त्रीहरुलाई पछाडी राखेर सरकारले के भन्न खोजेको छ ? संविधान, समाबेसीको धज्जी उडाउने र देशको लागि सही काम गर्नेहरुलाई पाखा लगाउने यो सरकार के सन्देश दिन खोजेको छ ? आफ्नै निर्णयमा टिक्न नसक्ने अनि विवादै विवादको काम गर्ने सरकारलाई छुट छैन।’

जेनजी सहिदको पहिलो स्मृतिमा मंगलबार नयाँ बानेश्वरस्थित पुरानो संसद् भवन परिसरमा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा गृहमन्त्री सुदन गुरुङसँगै विवादित धर्मगुरुहरू बालयोगेश्वर विजय कृष्णमूर्ति र श्रीनिवास आचार्य सहभागी थिए ।