काठमाडौँ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सुशासन, जवाफदेहिता, पारदर्शिता र विधिको शासन सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्ने बताएकी छन्।
जेनजी आन्दोलन भएको एक वर्ष पुगेको अवसरमा सन्देश जारी गर्दै कार्कीले सुशासन, जवाफदेहिता र उज्ज्वल भविष्यको मागसहित सडक तथा डिजिटल माध्यमबाट आवाज उठाएका युवाहरूको आवाज दबाउने क्रममा निर्दोष युवाले ज्यान गुमाउनुपरेको बताएकी छन्। आन्दोलनका क्रममा धेरै युवा गम्भीर घाइते भई जीवनभर अपांगताको पीडा बेहोर्नुपर्ने अवस्था आएको उनले उल्लेख गरेकी छन्।
उनले आन्दोलनमा सहिद भएका सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्।
आन्दोलनका क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति हुनुका साथै राष्ट्रिय सम्पदा र धरोहरसमेत गुमेको उल्लेख गर्दै कार्कीले उक्त घटना राष्ट्रको जीवनमा गहिरो घाउ बनेको बताएकी छन्। उनले यस्ता घटना पुनः दोहोरिन नदिन सबै पक्षले आ–आफ्नो ठाउँबाट इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिएकी छन्।
कार्कीले जेनजी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई स्पष्ट सन्देश दिएको बताउँदै संसद्को दुई तिहाइ बहुमतले मात्र राजनीतिक स्थायित्व सुनिश्चित गर्न नसक्ने धारणा राखेकी छन्।
‘सुशासन छैन भने संसद्को दुई तिहाइ बहुमतले पनि स्थिरता दिन सक्दैन,’ उनले भनेकी छन्, ‘राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ।’
सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र नागरिकको सम्मान सुनिश्चित गर्न सरकारले प्रभावकारी काम गर्नुपर्ने अपेक्षा पनि उनले व्यक्त गरेकी छन्।
जेनजी आन्दोलनबाट भएको ठूलो जनधनको क्षतिको एक वर्ष नपुग्दै मुलुक भोटेकोशी बाढीको अर्को पीडादायी अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै कार्कीले विपद्को यस घडीमा धैर्य, जिम्मेवारी र एकताका साथ अघि बढ्न सबैमा आग्रह गरेकी छन्। ‘एकअर्काको सहारा बन्दै, दुःखमा मल्हम लगाउँदै ऐक्यबद्ध भएर विपद्को सामना गरौँ,’ उनले भनेकी छन्।

प्रतिक्रिया