काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले हिमाली क्षेत्रको जोखिमलाई अब राष्ट्रिय सुरक्षासँग जोड्नुपर्ने बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सभापति थापाले भोटेकोसी बाढीपछि यसलाई पनि अब राष्ट्रिय सुरक्षासँग जोड्नुपर्ने देखिएको बताएका हुन् ।
उनले राष्ट्रिय सुरक्षा परिषद् अन्तर्गत ‘स्ट्राटेजिक क्लाइमेट एन्ड माउन्टेन रिस्क’ संयन्त्र बनाएर हिमालय क्षेत्रको जोखिमबारे वैज्ञानिक अध्ययन गर्नुपर्ने बताए । सभापति थापाले प्रधानमन्त्री बालेन साहलाई संयुक्त राष्ट्रसङ्घको महासभामा जानुअघि विशेष तयारी गर्न सुझाव दिए ।
उनले भने, ‘यो महासभा केवल भाषण गर्ने ठाउँ मात्र नबनोस्। तथ्य र प्रमाणसहित ‘क्लाइमेट जस्टिस’ र ‘ग्रान्ट बेस क्लाइमेट फाइनान्सिङ’ का लागि बलियो लबिइङ गर्नुपर्छ। यसका लागि नेपाल बाहिर रहेका विज्ञहरूको पनि सहयोग लिनुहोस् । तपाईँ सचिवालयका सदस्यको मात्र भर नपर्नु । यहाँ थुप्रै संस्था छन् यस विषयमा काम गरेका । अमेरिकामै बसेर यसबारेमा अध्ययन गरेका व्यक्ति पनि छन्, जसले राष्ट्रसंघलाई प्रभाव पार्न सक्छन् । उनीहरुसँग पनि छलफल गरी सुझाव लिनुस् ।’
उनले यसअघिका सरकार र प्रधानमन्त्रीहरूले अन्तर्राष्ट्रिय मञ्चहरूमा निर्वाह गरेको भूमिका र उठाएका एजेण्डाहरूलाई पनि अध्ययन गर्न सुझाव दिए ।
सभापति थापाले भने, ‘यस भन्दा अगाडि पनि प्रधानमन्त्रीहरू महासभामा जानुभएको छ, हिमालदेखि महासागरसम्मका कुरा उठेका छन्। पूर्वप्रधानमन्त्रीको कार्यकालमा कोप–२८ मा भएका पहलहरू र अन्य अन्तर्राष्ट्रिय मञ्चमा उठाइएका ‘क्लाइमेट जस्टिस’ का विषयहरूलाई निरन्तरता दिँदै अहिलेको तयारीलाई थप मजबुत बनाइनुपर्छ।’

प्रतिक्रिया