सेवा इन्टरनेसनल र नेपाल सिएमए संघको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन


नुवाकोट । भोटेकोसी नदीमा आएको बाढीका कारण बेत्रावती बजारबाट विस्थापित भई स्वाराडाँडाको जंगलमा टेन्टमा बस्दै आएका बाढीपीडितका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।

सेवा इन्टरनेसनल नेपाल र नेपाल सिएमए संघको संयुक्त आयोजनामा सञ्चालित शिविर आइतबार तेस्रो दिन पनि जारी रहेको हो । बाढीका कारण विस्थापित १८७ घरधुरीलाई १९ वटा टेन्टमा राखिएको स्थानमै पुगेर स्वास्थ्य सेवा प्रदान गरिएको आयोजकले जनाएको छ।

नेपाल सिएमए संघका केन्द्रीय उपाध्यक्ष कपिल खनालको नेतृत्वमा चितवन र मकवानपुर जिल्ला कार्यसमितिका स्वास्थ्यकर्मीको टोलीले प्रभावित समुदायको स्वास्थ्य परीक्षण, उपचार तथा आवश्यक औषधि निःशुल्क वितरण गरिरहेको छ।

आयोजकका अनुसार विपद्का कारण घरबार र बासस्थान गुमाएका प्रभावितलाई स्वास्थ्य सेवाबाट वञ्चित हुन नदिन शिविर सञ्चालन गरिएको हो। शिविरमा स्वास्थ्य परीक्षणसँगै आवश्यकताअनुसार उपचार र औषधि वितरण भइरहेको छ । बाढीपीडितहरू स्वाराको जंगलमा अस्थायी टेन्टमा बस्दै आएका छन्।