काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दश दिनपछि सुरुङबाट दुई जनाको सकुशल उद्धार हुनु सन्तोषजनक भएपनि समयमै प्रभावकारी कदम चाल्न नसक्दा ठूलो मानवीय क्षति भएको बताएका छन् ।
शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रचण्डले विपद् व्यवस्थापनमा सरकार अझ बढी जिम्मेवार हुनुपर्ने बताएका हुन् ।
उनले भने, ‘१० दिनपछि टनेलबाट दुई जनाको सकुशल उद्धार हुनु सन्तोषको कुरा हो। तर, समयमै उद्धार कार्य तीव्र बनाएको भए अझ धेरैको ज्यान बाँच्ने रहेछ। विपद् व्यवस्थापनमा सरकार अझ बढी जिम्मेवार हुनुपर्छ ।’
उनले सरकारका राम्रा काममा सहयोग र समर्थन रहने भएपनि नराम्रा कामको विरोध र आलोचना गर्ने आफ्नो स्पष्ट नीति रहेको बताए ।उनले प्राकृतिक विपद् तथा संकटको घडीमा कर्मचारीतन्त्रलाई त्रसित बनाएर नभई उत्प्रेरित र जिम्मेवार बनाएर परिचालन गर्नुपर्ने बताए ।
उनले भने,‘अहिले कताकता नेपाली राजनीति पनि, नेपाली कर्मचारीतन्त्र पनि र सबै राज्यका निकायहरू अलि बढी अन्योलमा भएको देखिन्छ । शुरुदेखि हामीले भनेका छौँ, राम्रो गर्नुस् सहयोग हुन्छ, समर्थन हुन्छ । तर लक्षण राम्रो देखिएको छैन । अहिले राज्यका निकाय अन्योलमा छन् ।’

प्रतिक्रिया