आज रसुवालाई राजनीति होइन, साथ चाहिएको छ


अर्जुन न्यौपाने

साथीहरू, आँखै अगाडि बाढीदेखि भिर चढी बाँचेको तर्फबाट अपील ! अहिले हामी ‘गगन किन रसुवा आए?’, ‘केपी ओलीले पीडितसम्म पुर्याउन रसुवा एमालेलाई बोलाएर राहत किन दिए?’, ‘गृहमन्त्री आफैँ अक्सिजन सिलिन्डर बोकेर किन हिँडे?’ भन्ने बहसतिर नलागौँ । यो राजनीति गर्ने समय होइन । हामी सबै पीडित छौँ । रसुवालाई ठूलो घाउ लागेको छ। धेरै परिवारले आफ्ना आफन्त गुमाएका छन्, धेरै परिवार अझै आफ्ना मान्छेको पर्खाइमा छन्।

जसले जहाँबाट, जुन माध्यमबाट सहयोग गरिरहेको भएपनि राहत र उद्धारका मानवीय कार्यलाई स्वागत गरौँ। सहयोग गर्ने हातलाई प्रश्नभन्दा प्रोत्साहनको आवश्यकता छ । तर अब राहतसँगै हाम्रो ध्यान दीर्घकालीन व्यवस्थापनतर्फ पनि जानुपर्छ। अहिलेको आवश्यकता भनेको सडक सञ्चालन, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, विस्थापितहरूको पुनर्वास, सुरक्षित बसोबास र समग्र पुनःस्थापनासहितको व्यवस्थित व्यवस्थापन हो । विपत्तिपछि केही समयका लागि राहत आउँछ, तर पीडित परिवारले महिनौँ र वर्षौँसम्म आफ्नो जीवन पुनःनिर्माण गर्नुपर्ने हुन्छ। त्यसैले अब हाम्रो ध्यान र बहस पनि यही दिशामा केन्द्रित गरौँ ।

अझ महत्वपूर्ण कुरा-सामाजिक भावना र मानवीयता हराउँदै गएको महसुस हुन थालेको छ । दुःखमा परेका मानिसको पीडालाई राजनीतिक चस्माले होइन, मानवीय दृष्टिले हेरौँ। एकअर्कालाई दोष दिनेभन्दा एकअर्काको घाउमा मलम लगाउने संस्कार विकास गरौँ । आज रसुवा पीडामा छ । आज रसुवालाई राजनीति होइन, साथ चाहिएको छ । आलोचना होइन, सहकार्य चाहिएको छ । भाषण होइन, उद्धार, पुनर्निर्माण र पुनर्वास चाहिएको छ । आउनुहोस्, यो विपत्तिलाई राजनीतिक प्रतिस्पर्धाको विषय होइन, मानवता, एकता र पुनर्निर्माणको अभियान बनाऔँ । पहिले मानवता, पहिले पीडित, पहिले पुनर्निर्माण । राजनीति पछि गरौँला ।