अब कम्तीमा पनि मानिस हुनुको न्यूनतम मानवता चाहिँ नगुमाऔँ


-रघु मैनाली

रसुवा हुँदै नेपाल प्रवेश गरेको महाविपत्तिको सन्दर्भमा अहिले पीडितलाई नै आरोपित गर्ने एउटा असान्दिर्भक तथा कुटिल दुःचेष्टा भइरहेको छ। पछिल्ला दिनमा नेपाली विज्ञसहित धेरैले भन्ने र लेख्ने गरेका छन्-“उनीहरूलाई खबर गर्दा पनि टेरेनन्।” तर अहिले हामीले खोज्नुपर्ने उत्तर यो होइन– उनीहरूले किन टेरेनन् ? उत्तर खोजिनु पर्ने यक्ष प्रश्न हो-हामीले उनीहरूलाई कस्तो खबर वा सूचना दियौँ ? हामीले प्रवाह गरेको सूचनाको मूल आशय थियो— ठूलो बाढी आएको छ माथि आउनु होला तल नबस्नु होस् । तर सञ्चारमा “मैले के भनेँ भन्ने कुराले अर्थ राख्दैन। मैले भनेको कुरा अरूले कसरी बुझे भन्ने कुराले असाध्यै महत्व र अर्थ राख्छ । हामीले त्यो महाविपत्तिलाई “बाढी आउँदैछ” भनेर सूचना प्रवाह गर्यौँ। उनीहरूको जीवनभरको अनुभवले “बाढी” भन्नाले एउटा निश्चित प्रकारको प्राकृतिक घटनालाई बुझाएको थियो। उनीहरूले सम्भावित जोखिमलाई पनि त्यही अनुभवको सीमाभित्र राखेर बुझेका हुन सक्छन्, जुन स्वाभाविक पनि हो । त्यसैले यस पटक आएको त्यो महाविपदको मात्रा, घनत्व, गति र प्रलयकारी तीव्रता कति हुन्छ भन्ने कुरा स्थानीय बासिन्दाले कसरी अनुमान गर्ने ?

स्थानीय मानिसले बुझेको “बाढी” र उनीहरूले भोग्नुपरेको यो महाविपत्तिबीच कत्तिपनि मेल खाएन। यसको अर्थ के हो भने महाविपत्तिको वास्तविक प्रकृति र त्यसबारे जनतालाई सूचना दिँदा हामीले प्रयोग गरेका शब्दले सञ्चार गरेको अर्थबीच गम्भीर असंगति रह्यो। हामी सूचना तयार गर्ने र प्रवाह गर्ने प्रक्रियामै चुक्यौँ। यस घटनाबाट सिक्नुपर्ने सबैभन्दा महत्वपूर्ण पाठ यही हो-अर्थ शब्दमा हुँदैन, अर्थ मानिसको दिमागमा निर्माण हुन्छ । त्यो भनाइ बारे आफ्नो बुझाइका आधारमा कस्तो निर्णय लिने भन्ने कुरा निर्णायक हुन्छ।

स्थानीय बासिन्दाले “ठूलो बाढी आउँदैछ” भन्ने सूचना आफ्नो जीवनभरको अनुभवका आधारमा बुझे। उनीहरूले त्यसैअनुसार जोखिमको अनुमान गरे र निर्णय लिए। तर वास्तविकता उनीहरूले कल्पना गरेको बाढीभन्दा बिल्कुलै फरक थियो। त्यसैले उनीहरूलाई सम्भावित खतराको वास्तविक गम्भीरता बुझ्ने सन्देश नै हामीले पुर्याउन सकेनौं ।

यस्तो अवस्थामा “हामीले त खबर गरेकै थियौँ, उनीहरूले टेरेनन्” भनेर छिनभरमै सर्वश्व गुमाउन बाध्य ती क्षतविक्षत र शोकाकुलजनलाई नै दोषारोपण गर्नु कुनै बहादुरी वा बुद्धिमानी होइन। बरु, हामीले विपत्तिको सूचना कसरी दिने, कस्ता शब्द प्रयोग गर्ने, जोखिमको गम्भीरता कसरी बुझाउने र मानिसलाई आवश्यक निर्णय लिन कसरी सहज र सक्षम बनाउने भन्ने विषयमा गम्भीर आत्मसमीक्षा गर्नुपर्छ।
विपद् सञ्चारको उद्देश्य सूचना दिएर आफ्नो जिम्मेवारी पूरा भएको देखाउनु मात्र होइन; मानिसलाई सही अर्थ बुझाउनु र सही समयमा सही निर्णय लिन सक्षम बनाउँदै सम्भावित जोखिमबाट बनाउन सक्नु हो ।

आगामी विपत्तिका लागि सूचना कसरी तयार गर्ने र कसरी प्रवाह गर्ने भन्ने धेरै मध्येको एउटा पाठ यस घटनाबाट सिक्नु नै सामान्य मानवीय चेतना र सामाजिक जागरुकता तथा जिम्मेवारी हो। हेक्का राखौं– कुनै पनि मानिस आफ्नो ज्यान जोखिममा पार्न चाहँदैन । महाविपत्तिको अकल्पनीय शिकार भएर मर्माहत भएका व्यक्तिहरूलाई दोष लगाउनु वा गाली गर्नु सामान्य चेतना र सामाजिक रूपमा उत्तरदायी व्यक्ति, संस्था वा शासकलाई कत्ति पनि सुहाउँदैन। यस्ता कार्य वा अभिव्यक्ति सिङ्गो मानव जाति र चेतानाकै लागि सर्मनाक कलंक बन्नेछन् ।
हामीले यस महाविपत्तिमा विभत्स मानव क्षति र अकल्पनीय धन–सम्पत्ति तथा पशुधन गुमाइसकेका छौँ। अब कम्तीमा पनि मानिस हुनुको न्यूनतम मानवता चाहिँ नगुमाऔँ । पीडितलाई उल्टै दोष दिने आततायी बन्ने बाटो नरोजौं, हाम्रो सञ्चार कहाँ चुक्यो भनेर खोजौँ । अकाट्य सत्य के हो भने विपत्तिमा मानिसलाई बचाउने प्रभावकारी सूचना त्यही हो, जसको अर्थ उसले सही रूपमा बुझ्न सक्छ।