प्रदेशमा सत्ताको खेल र एमालेको निष्ठा


-झपटबहादुर रावल

नेपाली राजनीतिमा सत्ता प्राप्तिका लागि सिद्धान्त र निष्ठालाई एकातिर पन्छाउने प्रवृत्ति पुरानै र दीर्घरोगका रूपमा स्थापित भइसकेको छ। विशेष गरी नेपाल कम्युनिस्ट पार्टी (एमाले) जस्तो रूपान्तरणकारी विचार, जनआन्दोलनको विरासत र समृद्धिको मार्गचित्र बोकेको दल नै जब सत्ताको छिनाझपटीमा परेर सिद्धान्तहीन बाटोमा निरन्तर अग्रसर हुन थाल्छ, तब यसले सिङ्गो राजनीतिक व्यवस्था, दलीय अनुशासन र समग्र लोकतन्त्रमाथि नै गम्भीर प्रश्नचिह्न खडा गरिदिन्छ। सिद्धान्तको राजनीतिबाट विचलित भई केवल सत्ता प्राप्तिको अङ्कगणितमा रुमल्लिँदा पार्टीले आफ्नो मौलिक पहिचान र जनविश्वास मात्रै गुमाउँदैन, बरु यसको दूरगामी र दीर्घकालीन क्षति सिङ्गो मुलुक तथा समर्पित कार्यकर्ता पङ्क्तिले भोग्नुपर्ने हुन्छ।

एमालेको विगतको राजनीतिक इतिहासलाई गम्भीरतापूर्वक फर्केर हेर्ने हो भने सत्ता समीकरणका नाममा आफ्नै मूल विचार, जनताको बहुदलीय जनवाद (जबज) को मर्म र आधारभूत सिद्धान्तसँग मेल नखाने शक्तिहरूसँग सम्झौता गर्ने प्रवृत्ति पटक–पटक दोहोरिएको छ। बागमती प्रदेशमा विकसित पछिल्लो राजनीतिक समीकरण र पर्दापछाडिका खेलहरूले एमाले नेतृत्व अझै पनि विगतका विफलता, वैचारिक विचलन र क्षतिबाट पाठ सिक्न तयार छैन भन्ने तीतो यथार्थलाई पुनः उजागर गरिदिएको छ। प्रदेशको नेतृत्व चयन गर्ने स्पष्ट लोकतान्त्रिक, सांगठनिक र संवैधानिक विधिहरू हुँदा–हुँदै फेरि पनि विचार र दर्शन नै नमिल्ने दलहरूलाई अगाडि सारेर स्वार्थको राजनीति गर्न खोज्नु वैचारिक स्खलनकै निरन्तरता हो। पार्टीको संसदीय दल, आन्तरिक लोकतन्त्र, योगदान र वरिष्ठताको सम्मान गर्नुको सट्टा सत्ताको तात्कालिक गणित मिलाउन अस्वाभाविक शक्तिहरूसँग सौदाबाजी गर्नाले समाजमा सत्ता नै सर्वोपरि भन्ने गलत र निराशाजनक सन्देश दिएको छ।

सत्ता या अन्य प्रयोजनका लागि हुने गठबन्धन या सहकार्य पार्टी कमिटीको नीति र निर्णयअनुसार हुनुपर्छ । कुनै व्यक्तिको संकट मोचनका लागि गरिने यश किसिमका सहकार्यले झन् हामीलाई क्षति गराउँछ । सत्ताकै सवालमा पनि बहस, छलफल र कुराकानी पार्टी कार्यालयमा पारदर्शिताका आधारमा हुनुपर्छ । कुनै व्यक्तिको निवासमा सीमित समूहको योजनाअनुसार हुने गोप्य छलफल र मन्त्रणाले पार्टीलाई झन् क्षति गराउँछ । चुनावी परिणामबाट धक्का भोगिसकेपछि हामिसँग सुध्रिनेबाहेक अर्को विकल्प छैन । तर सुध्रिने त्यो विकल्पलाई पनि नेतृत्वले बेवास्ता गरेर चलाइएका यस किसिमका छलफल र गोप्य भेला पार्टीका लागि हितकर हुँदैनन् ।

वस्तुतः व्यक्ति वा नेतृत्व अस्थायी हुन्छन्, तर सिद्धान्त, विचार, नीति र संस्थागत मूल्यहरू दीर्घकालीन हुन्छन्। कुनै पनि दलको जीवन्तता र सामथ्र्य त्यसको विचारको स्पष्टता र कार्यकर्ताको निष्ठामा अडिएको हुन्छ। यदि नेतृत्वले व्यक्तिवादी स्वार्थ, गुटगत लाभ वा सत्ताको आशक्तिमा वैचारिक धरातललाई तिलाञ्जली दिइरहने हो भने पार्टीको जग नै भत्किने खतरा रहन्छ। विगतमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत दक्षिणपन्थी शक्तिसँगको असैद्धान्तिक सहकार्यले एमालेको वैचारिक छवि र राजनीतिक उचाइमा गरेको क्षतिको गम्भीर समीक्षा गर्दै नेतृत्वले आफ्नो गन्तव्य सुधार्न अब अत्यावश्यक भइसकेको छ।
तसर्थ, बागमती प्रदेश लगायत सिङ्गो देशको राजनीतिमा क्षणिक सत्ताको छिनाझपटीभन्दा माथि उठेर विचार, नीति र सिद्धान्तको पुनरोदय हुनु आजको प्राथमिक आवश्यकता हो। एमालेजस्तो ऐतिहासिक उत्तरदायित्व बोकेको दलले विगतका अप्राकृतिक गठबन्धन र वैचारिक सम्झौताहरूबाट निर्मम पाठ सिक्दै आफ्नै नीति, आन्तरिक लोकतन्त्र, विधि र निष्ठाको राजनीतिमा फर्किन अब अलिकति पनि ढिला गर्नु हुँदैन। सत्ता क्षणिक र आउने–जाने विषय हो, तर विचार र सिद्धान्तप्रतिको अटल निष्ठा नै राजनीतिलाई दीर्घकालसम्म जीवित, सम्मानित र जनप्रिय राख्ने एकमात्रै बलियो आधार हो।