सांसदहरुलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध प्रदर्शन


काठमाडौं । सांसदहरुलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध युवाहरु सडकमा उत्रिएका छन् । शनिबार माइतीघर मण्डलामा जेनजी पुस्ताका युवाहरुले सरकारको निर्णय तत्काल खारेज गर्न माग राख्दै विरोध प्रदर्शन गरेका हुन् ।

सरकारले साउन ४ गते राजपत्रमा सूचना प्रकाशित गरी ‘संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३’ को अनुसूची हेरफेर गर्दै सांसदहरूलाई समेत एकजना निजी स्वकीय सचिव राख्न पाउने व्यवस्था गरेको थियो ।

सोही निर्णयविरुद्ध युवाहरु सडकमा उत्रिएका हुन् । आन्दोलनको नेतृत्व गरिरहेको राष्ट्रिय जेनजी नागरिक अभियानका अभियन्ता अजय सोडारीले सांसदका स्वकीय सचिव सुविधा पुनस्र्थापना गर्ने सरकारी निर्णयको कडा विरोध गर्दै तत्काल फिर्ता लिन सरकारलाई चेतावनी दिए । निर्णय फिर्ता नभए सडक संघर्ष सुरु गर्ने र निर्णय फिर्ता गराएर छाड्ने उनले चेतावनी पनि दिए ।

सरकारको उक्त निर्णयको चौतर्फी विरोध भइरहेको छ । अधिवक्ता डा. प्रेमराज सिलवालले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

उक्त रिटको साउन ११ गतेका लागि पेसी तोकिएको छ । सुशीला कार्की नेतृत्वको सरकारले सांसदहरुलाई स्वकीय सचिवको सुविधा खारेज गरेको थियो । तर बालेन नेतृत्वको सरकारले त्यसलाई फेरि ब्यूँताएको छ ।