सर्लाहीको भरत ताल निर्माणमा अनियमितता, तत्कालीन मन्त्रीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकास्थित भरत ताल निर्माणमा अनियमितता भएको भन्दै मधेश प्रदेशका पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगले मधेशका तत्कालीन अर्थमन्त्री शैलेन्द्रप्रसाद साह तत्कालीन सचिव गजेन्द्रकुमार ठाकुर, बागमतीका मेयर भरत कुमार थापा, तत्कालीन उपमेयर लीलाकुमारी मोक्तान, प्रशासकीय अधिकृत विमलकुमार पोखरेल उपसचिव उद्धवराज न्यौपाने र विकुई–धुलिखेल जेभीका प्रतिनिधि युवराज पोखरेलविरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार बागमती नगरपालिकाले भरत ताल निर्माणको दोस्रो चरणको ठेक्का प्रक्रियामा अनियमितता भएको छ ।

पहिलो चरणको निर्माण कार्य नसकिँदै र पुरानै डीपीआरले काम चल्ने अवस्था हुँदाहुँदै, बदनीयतपूर्वक थप आर्थिक दायित्व सिर्जना गर्न नयाँ डीपीआर तयार पारिएको, जटिल सर्तहरू चाहेको व्यक्तिलाई ठेक्का दिने गरी अन्य प्रतिस्पर्धीलाई वञ्चित गरिएको अख्तियारले जनाएको छ । अख्तियारले उक्त निर्माणमा ३९ करोड ३९ लाख रुपैयाँ भ्रष्टाचार भएको दाबी गरे पनि आरोपितहरूमाथि फरक–फरक बिगो र जरिवाना मागदाबी गरेको छ ।

मधेश प्रदेश सरकारका पूर्वअर्थमन्त्री साह र सचिव ठाकुरमाथि ३५ करोड रुपैयाँ बिगो मागदाबी छ । अख्तियारले मेयर थापा, उपमेयर मोक्तान र प्रमुख प्रशासकीय अधिकृत पोखरेलमाथि ३९ करोड ३९ लाख रुपैयाँ हानिनोक्सानी पुर्याएको आरोप लगाएको छ ।

मधेश प्रदेश सरकारका उपसचिव उद्धवराज न्यौपानेमाथि २० करोड भ्रष्टाचार गरेको आरोप छ । अख्तियारले ठेकेदार कम्पनीमाथि ३९ करोड ३९ लाख रुपैयाँ हानिनोक्सानी पुर्याएको आरोप लगाएको छ ।