कांग्रेसले ऐतिहासिक निर्णय गर्ने बेला आएको छः आङ्देम्बे


काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेपाली कांग्रेसले ऐतिहासिक निर्णय गर्ने बेला भएको बताएका छन् ।

बीपी कोइरालाको स्मृति दिवसमा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आङ्देम्बेले अब एउटै व्यक्तिको भाषणले महिनौं खुसी भएर बस्ने बेला नभएको भन्दै अब ऐतिहासिक निर्णय गर्ने बेला आएको बताएका हुन् ।

उनले अहिलेको यो समयले यो कांग्रेसलाई एक थान भाषणको निम्ति नभई गम्भीरतापूर्वक ऐतिहासिक निर्णय पनि गर भनेको बताए ।

उनले भने, ‘अहिलेको समयले हामीसँग एक थान भाषण मात्रै मागेको छैन । त्यस्तो समय पनि थियो एक व्यक्तिले भाषण गरेपछि त्यसमा स्वाद मानेर महिनौं बिताउने हामी पनि हौं । अहिलेको यो समयले यो कांग्रेसलाई एक थान भाषणको निम्ति होइन गम्भीरतापूर्वक ऐतिहासिक निर्णय पनि गर भनेको छ । यो कुरा बुझ्नुपर्छ । यो मशाललाई अघि बढाउन सकेनौँ भने यसले हामीलाई कतै पनि पुर्याउँदैन ।’

आङदेम्बेले संस्थापनइतर समूहका नेताहरूको अभिव्यक्तिमा तर्क र विवेकको कमी महसुस भएको बताए । उनले विभिन्न डबलीहरूमा सुनिएका विचारहरूमा तर्क र विवेकको कमी महसुस भएको भन्दै विवेक र तर्क हराएर अहङ्कार र गालीमा रूपान्तरित भएको उल्लेख गरे ।

उनले भने, ‘बीपी कोइरालाले ५० वर्षअघि राष्ट्रियताको रक्षा र प्रजातन्त्र एकअर्काका पूरक हुन् भन्नुभएको थियो। त्यो मेलमिलापको नीति थियो । तर कांग्रेसको समाजवादी दर्शन सत्ता प्राप्तिको लालसाले थिचियो, किचियो र मिचियो।’

उनले कांग्रेसको नेतृत्वले नै देशको काचुली फेर्ने र मुलुकलाई समृद्ध बनाउने उल्लेख गर्दै कार्यकर्ता र जनताको विश्वासलाई सदैव जीवन्त राख्ने प्रण गरे ।

उनले अहिले संसद्को काम–कारबाहीमाथि प्रश्न उठाउँदै संसदमा तर्क, विवेक र विधिभन्दा मनपरी प्रवृत्ति हाबी भएको बताए ।

उनले भने, ‘संसदमा न तर्क छ, न विवेक छ। जे मन लाग्यो त्यही भइरहेको छ। उल्टो बाटो हिँड्ने काम भइरहेको छ। समस्या परेपछि मात्रै सच्याउने प्रयास गरिन्छ ।’