काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवास नेपाली सम्पर्क विभाग, जापानले पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीलाई सामाजिक संजालमा लाइभ दिएका अभिव्यक्तिप्रति आपत्ति जनाउँदै माफी माग्न आग्रह गरेको छ ।
विभागले आइतबार विज्ञप्ति जारी गरी सांसद शाहीले तथ्य नबुझी सामाजिक सञ्जाल प्रयोग गर्ने नागरिक तथा रास्वपाका समर्थकलाई लक्षित गर्दै अपमानजनक र असंयमित अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको हो ।
विभागले जिम्मेवार जनप्रतिनिधिबाट यस्तो अभिव्यक्ति आउनु लोकतान्त्रिक मूल्य, राजनीतिक मर्यादा र सार्वजनिक पदको गरिमाविपरीत भएको भन्दै सांसद शाहीलाई आफ्नो अभिव्यक्तिप्रति आत्मसमीक्षा गर्दै सार्वजनिक रूपमा क्षमायाचना गर्न आग्रह गरेको छ ।
विज्ञप्तिमा उचित सम्बोधन र सार्वजनिक क्षमायाचना नआए लोकतान्त्रिक, संवैधानिक तथा कानुनी प्रक्रियाअनुसार आवश्यक कदम चालिने चेतावनी पनि दिइएको छ ।
शाहीले गएराति फेसबुक लाइभमा आएर रास्वपाका नेता कार्यकर्तामाति आक्रोश पोखेका थिए । उनले भनेका थिए,‘ तिमीहरूको यदि हैसियत छ भने तिम्रो मालिकलाई, तिम्रो पार्टी सभापतिलाई, तिम्रो प्रधानमन्त्रीलाई, तिम्रो गृहमन्त्रीलाई संसदमा आएर ज्ञानेन्द्र शाहीले उठाएको प्रश्नको जवाफ दे भन्नुस् । ज्ञानेन्द्र शाहीले संसदमा प्रश्न उठायो, यसको जवाफ दे भन । छ जवाफ दिने हिम्मत ? । म जवाफ सुन्न तयार छु । चार्टर्ड एकाउन्टेन्ट पढ्या हो केटा, तँ जस्तो बेल्चा हान्या होइन । पढ्या हो ।’
उनले रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठग र प्रधानमन्त्री बालेन साहलाई खरानी ग्याङ भन्दै आक्रोश पोखेका थिए । उनले भनेका थिए, ‘सहकारी ठगेर आएको होइन साथी, सिंहदरबार जलाएर आएको होइन, जनतासँग संघर्ष गरेर आएको हो । दमका साथ भन्छु, यदि त्यो दम छ तिमीहरूसँग भने, अहिले पनि दम छ भने सिधै स्पष्ट कुराका साथ म भन्छु, तिम्रो अध्यक्षलाई, तिम्रो सभापतिलाई, तिम्रो गृहमन्त्रीलाई म सांसद हो, संसदमा जवाफ दे भन । छ दम ? छ ? ल जवाफ दे भन । म तिमीहरू जस्तै खरानी ग्याङ, सहकारी ठगहरूको ग्याङ, गँजेडीहरूको ग्याङ र त्यस्तै आक्रमण गर्नेहरूसँग लडेर आएको हो ।’

प्रतिक्रिया