काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसले प्रत्येक वडाबाट चयन हुने प्रतिनिधिमध्ये ३० वर्षमुनिका युवाको अनिवार्य सहभागिता सुनिश्चित गरेको बताएका छन् ।
आइतबार ४४ औँ बीपी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा सभापति थापाले सबै निर्वाचन क्षेत्रबाट ३० वर्षमुनिका कम्तीमा तीन जना महाधिवेशन प्रतिनिधि रहने व्यवस्था गरिएको बताए ।
उनले भने, ‘पार्टीको वैधानिक संरचनामा हामीले प्रत्येक वडाबाट प्रतिनिधिहरू छानेर आउँदै गर्दाखेरी ३० वर्षभन्दा मुनिको यति संख्यामा हुनैपर्छ भनेर हामीले क्रियाशीलबाट छानिने प्रतिनिधिहरूबाटै छानेर बनाएका छौँ । त्यस्तै ३५ वर्षभन्दा मुनिको एउटा निर्वाचन क्षेत्रबाट ३ जना महाधिवेशन प्रतिनिधि अनिवार्य रूपमा हुने गरी, अहिले जो हामी पहिला २५ भन्छौँ । हामीले अहिले थपेर ३१ बनाएका छौँ र त्यहाँ ३ जना साथीहरू ३५ वर्षभन्दा मुनिको आउनुहुन्छ ।’
कांग्रेसमा अहिले चार पुस्ताका नेता–कार्यकर्ता एकैसाथ सक्रिय रहेको भन्दै उनले सबै पुस्तालाई जोड्ने साझा राजनीतिक शक्ति बन्नुपर्ने बताए ।
कांग्रेसले देशभरका सबै जातजाति, भाषा र समुदायलाई जोड्दै आएको उल्लेख गरे । उनले अब सबै पुस्तालाई पनि एकै सूत्रमा बाँध्ने पार्टीका रूपमा आफूलाई स्थापित गर्नुपर्ने बताए ।
सभापति थापाले प्रदेश सभालाई प्रतिपक्षविहीन नबनाइने बताए । उनले भने, ‘तीन दल मिलेर सरकार बनाउँदा प्रदेशसभा प्रतिपक्षविहीन हुन्छ र त्यो जनताको म्यान्डेटविपरीत हुन्छ, यस्तो प्रस्तावलाई कांग्रेसले ठाडै अस्वीकार गर्छ।’ उनले सत्ताका लागि अब सिद्धान्तमा कांग्रेसले सम्झौता नगर्ने बताए ।

प्रतिक्रिया