काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै पत्रकार र सञ्चार गृहलाई त्रासरहित वातावरणमा काम गर्न पाउने सुरक्षाको प्रत्याभूति गर्न सरकार समक्ष माग गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै सचेतक परियारले आफ्नो दल सधैँ लोकतन्त्र, विधिको शासन र पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा चट्टान जस्तै उभिएको प्रष्ट पारे । उनले प्रेस स्वतन्त्रताको प्रतिरक्षाका रुपमा आफ्नो दल उभिएको भए पनि प्रेसले जिम्मेवार पत्रकारिताको भूमिका निवार्ह गर्नुपर्नेमा जोड दिए ।
परियारले नेपालको संविधानले प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरिएको स्मरण गराए। उनले भने,‘हिजो राजधानीका अग्रणी सञ्चार माध्यमका मुख्य प्रवेशद्वारमै गाडीहरू पार्किङ गरेर, भौतिक रूपमा आवतजावत ठप्प पारी सञ्चार गृहलाई तर्साउने जुन कुत्सित प्रयास गरियो, म यसको कडा शब्दमा भत्र्सना गर्दछु ।’
उनले नेपाली पत्रकारिताले अहिलेसम्म कसैसँग नझुकेको स्मरण गराउँदै भने, ‘हिजो निरंकुश शाही कालमा, तत्कालीन राजा ज्ञानेन्द्र शाहको सैनिक शासनमा बन्दुक बोकेका सेनाहरू समाचार कक्ष भित्रै पसेर समाचार सेन्सर गर्दथे। त्यतिबेला नझुकेको नेपाली सञ्चाररमाध्यम, आज सडकमा दुई–चार वटा गाडी तेस्र्याएर तर्सिन्छ र?ओखलीमा टाउको हालेपछि मुसलको के डर भने झैँ, जस्तोसुकै संकटमा पनि निर्भीक भएर उभिएको इतिहास कहाँ भूल्न सकिन्छ र?’

प्रतिक्रिया