काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.गुणाकर भट्टले संसदको अर्थ समितिबाट उठाइएका विषयमा आयोगले १० दिनभित्र लिखित जवाफ पेश गर्ने बताएका छन् ।
सोमबार समितिको बैठकमा राष्ट्रिय योजना आयोगसँग आर्थिक वर्ष २०८२/८३ मा आयोगबाट सम्पन्न भएका मुख्य कामकारबाही, १६औँ आवधिक योजनाको कार्यान्वयन अवस्था, मध्यकालीन खर्च संरचनाको कार्यान्वयन तथा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनासहित विकास आयोजनाहरूको प्रगति सम्बन्धमा छलफल भएको थियो ।
समितिको निर्देशनअनुसार आवश्यक विवरण तयार गरी पेश गरिने उनले बताए । उनले भने, ‘१० दिनभित्र राष्ट्रिय योजना आयोगले समितिमा उठेका कुराहरु लिखित रुपमा यो समितिमा प्रस्तुत गर्नुपर्ने निर्देशन नै आइसकेको छ । आफैंले पनि सोचेका थियौं अर्थ समितिसँग यो विषयमा छलफल गर्ने । राष्ट्रिय योजना आयोगको भूमिकाको विषयमा कतिपय कुराहरु समितिबाट पनि आएका छन् ।’
उनले राष्ट्रिय योजना आयोग हाल तीन प्रमुख क्षेत्रमा आफ्नो भूमिका निर्वाह गरिरहेको बताए । सरकारले तर्जुमा गर्ने नीतिमा अनुसन्धानमा आधारित सहयोग प्रदान गर्ने संस्थाका रूपमा आयोगलाई थप सुदृढ बनाउँदै लैजान आवश्यक रहेको उनले बताए । यसका लागि विभिन्न मन्त्रालयसँग निरन्तर समन्वय भइरहेको र सम्बन्धित क्षेत्र हेर्ने आयोगका सदस्यहरूले मन्त्रालयसँग नीतिगत विषयमा सहकार्य गरिरहेको उनले जानकारी दिए ।
उनले भने,‘आयोग अहिले तीनवटा कुरामा भूमिका खेलिरहेको छ । जसमा स्वभाविक रुपमा सरकारको एउटा महत्वपूर्ण नीति अनुसन्धानमा सहयोगीको भूमिकामा राष्ट्रिय योजना आयोगलाई सुदृढ बनाउँदै जानुपर्नेछ । त्यसका लागि विभिन्न मन्त्रालयहरुसँग अहिले पनि समन्वय गरिनै रहेका छौं । विभिन्न मन्त्रालयहरुसँग सम्बन्धित नीतिमा हाम्रो ततक्षेत्र हेर्ने मान्यज्यूहरुले समन्वय गरिरहनु भएको छ ।’
उनले आयोग मुलुकको दीर्घकालीन विकास सोच निर्धारण गर्ने महत्वपूर्ण संस्था भएकाले यसलाई अझ सक्षम, सुदृढ र प्रभावकारी बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याए ।

प्रतिक्रिया