ट्रम्पका निकट सहयोगी अमेरिकी सिनेटर लिन्ड्से ग्राहमको निधन


बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा रिपब्लिकन पार्टीका वरिष्ठ सिनेटर लिन्ड्से ग्राहमको ७१ वर्षको उमेरमा निधन भएको छ । उनको कार्यालयका अनुसार शनिबार साँझ आकस्मिक स्वास्थ्य समस्यापछि उनको निधन भएको हो ।

प्रारम्भिक चिकित्सकीय परीक्षणले मुटुको मुख्य धमनी च्यातिनु नै मृत्युको कारण रहेको देखाएको छ । सन् २००२ देखि दक्षिण क्यारोलिनाको प्रतिनिधित्व गर्दै आएका ग्राहम अमेरिकी विदेश नीतिका प्रभावशाली नेतामध्ये एक थिए ।

उनी विदेशमा अमेरिकी सैन्य हस्तक्षेपको पक्षमा स्पष्ट रूपमा वकालत गर्ने नेताका रूपमा परिचित थिए । राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्राहमलाई ‘साँचो अमेरिकी देशभक्त’ को संज्ञा दिँदै उनको निधनबाट देशले एक महत्वपूर्ण नेता गुमाएको बताएका छन् ।

ट्रम्पले एनबीसी न्यूजसँग कुरा गर्दै निधन हुनुभन्दा केही घण्टाअघि मात्रै ग्राहमसँग कुराकानी भएको र उनी सामान्य देखिए पनि केही थकित सुनिएको बताएका छन् ।

निधनअघि ग्राहम युक्रेनको राजधानी किएभ भ्रमणमा थिए। उनले शुक्रबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गरेका थिए। भ्रमणअघि उनको स्वास्थ्यमा कुनै समस्या रहेको जानकारी सार्वजनिक भएको थिएन।

ग्राहम प्रारम्भिक चरणमा ट्रम्पका कडा आलोचक थिए। सन् २०१५ मा उनले ट्रम्पलाई जातीय विभाजन फैलाउने, विदेशीप्रति असहिष्णु र धार्मिक पूर्वाग्रही व्यक्ति भनेर आलोचना गरेका थिए । सन् २०१६ को राष्ट्रपतीय निर्वाचनअघि उनले ट्रम्प उम्मेदवार बने रिपब्लिकन पार्टी पराजित हुने चेतावनीसमेत दिएका थिए ।

तर समयसँगै उनको धारणा परिवर्तन भयो। सन् २०२१ मा ट्रम्पविरुद्धको महाभियोगमा दोषी ठहर गर्ने पक्षमा मतदान नगरेका ग्राहमले सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्पको उम्मेदवारीलाई खुलेर समर्थन गरेका थिए।

ग्राहमले ट्रम्प प्रशासनको दक्षिणी सीमा सुरक्षा नीति, इरानी सैन्य कमाण्डर कासेम सुलेमानीविरुद्धको कारबाही तथा रूढिवादी न्यायाधीशहरूको नियुक्तिलाई समर्थन गर्ने प्रमुख कारणका रूपमा उल्लेख गरेका थिए ।