काठमाडौँ । नेपाली कांग्रेस ससदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारसँग सुकुम्बासीको सुरक्षित र व्यवस्थित व्यवस्थापनको प्रतिवद्धता खोजेका छन् ।
आइतबार सामाजिक संजालमार्फत आङ्देम्बेले सुकुम्बासीको व्यवस्थित बसोबासको व्यवस्था गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता खोजेका हुन् ।
उनले भनेका छन्, ‘मानवीय मूल्य र मर्यादालाई पूर्णतः बेवास्ता गर्दै कुनै करुणा र संवेदनाविनै सुकुम्बासी नागरिकलाई बलपूर्वक हटाइँदै गर्दा प्रधानमन्त्रीजीले गरेको एउटा सार्वजनिक प्रतिबद्धता आज पनि सम्झिन्छु–‘ज्यान जोखिममा रही असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकहरूका लागि सुरक्षित तथा व्यवस्थित स्थानान्तरणको व्यवस्था गरिनेछ ।’ आज म प्रधानमन्त्रीजीलाई सोध्न चाहन्छु– त्यो प्रतिबद्धता कहाँ हरायो ? के यही हो तपाईंले वाचा गर्नुभएको सुरक्षित र व्यवस्थित व्यवस्थापन ?’
उनले होल्डिङ सेन्टरमा पुगेर पीडितहरूको अवस्था बुझ्न र सरकारसँग जवाफ माग्न खोज्ने युवाहरुलाई बलपूर्वक नियन्त्रणमा लिएको घटनाले प्रश्न सोध्नुलाई सरकारले अपराध नै ठानेको भन्दै आपत्ति जनाए ।
उनले भने, ‘जोखिमबाट जोगाउने नाममा विस्थापित गरिएका गरिब नागरिकलाई राखिएको कीर्तिपुरको होल्डिङ सेन्टर नै डुबानमा परेपछि एउटा कटु यथार्थ उजागर भएको छ कि सरकारले उनीहरूलाई जोखिमबाट मुक्त गरेको होइन, बरु एउटा जोखिमबाट निकालेर अर्को अझ भयावह जोखिममा धकेलेको हो । सुरक्षित आश्रयको आश्वासन पाएका ती नागरिक आज फेरि भोक, पानी, हिलो, अभाव र असुरक्षाको घेराभित्र पीडादायी जीवन बिताउन बाध्य छन् । यो सुकुम्बासी नागरिकसँग गरिएको सार्वजनिक प्रतिबद्धमा गैरजिम्मेवार, संवेदनहीनता किन ? झन् दुःखद् र लज्जास्पद कुरा, त्यही होल्डिङ सेन्टरमा पुगेर पीडितहरूको अवस्था बुझ्न र सरकारसँग जवाफ माग्न खोज्ने युवाहरू माजिद अन्सारीसहितलाई बलपूर्वक नियन्त्रणमा लिएको घटनाले प्रश्न सोध्नुलाई सरकारले अपराध नै ठानिएको देखियो । म सोध्न चाहन्छु– लोकतान्त्रिक व्यवस्थामा प्रश्न सोध्नु कहिलेदेखि अपराध बन्यो ? आफ्नै प्रतिबद्धता पूरा गर्न नसकेपछि आत्मसमीक्षा गर्नुपर्ने सरकारले उल्टै प्रश्न गर्ने नागरिकमाथि दमन गर्नु लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथिको आक्रमण हो ।’
उनले प्रधानमन्त्रीले सुकुम्बासी नागरिकसँग गरेको वाचाको जवाफ दिन आग्रह गरेका छन् । उनले भनेका छन्, ‘प्रधानमन्त्रीजी, सुकुम्बासी नागरिकसँग गर्नुभएको वाचाको जवाफ दिनुहोस् । किनभने नागरिकसँग गरिएका प्रतिबद्धता पूरा भए कि भएनन् भन्ने कुराको हिसाब इतिहासले कालो डायरीमा राख्नेछन् । प्रश्न सोध्नेलाई थुनेर होईन जवाफ बन्नुहोस् ।’

प्रतिक्रिया