काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा वास्तविक परिवर्तनका लागि सतही काम गरेर मात्र नपुग्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका पौडेलले अस्पताल फार्मेसीको बोर्ड मात्र परिवर्तन गरेर नागरिकले सहज सेवा पाउने वा औषधिको मूल्यमा सुशासन कायम हुने अवस्था नरहने बताएका हुन् । उनले स्वास्थ्य क्षेत्रको रूपान्तरणका लागि दीर्घकालीन योजना र व्यावहारिक समाधानको खाँचो रहेको बताए ।
उनले भनेका छन्, ‘अस्पताल फार्मेसीको बोर्ड मात्र परिवर्तन गरेर नागरिकले सहज सेवा पाउने वा औषधिको मूल्यमा सुशासन कायम हुने अवस्था रहँदैन । स्वास्थ्य क्षेत्रको रूपान्तरण दीर्घकालीन योजना र नागरिकले प्रत्यक्ष राहत महसुस गर्ने व्यवहारिक समाधानको सम्मिश्रणबाट मात्र सम्भव हुन्छ । हिजो हामीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दा आम नागरिकलाई सर्वसुलभ मूल्यमा औषधि उपलब्ध गराउन, देशभर समान मूल्य कायम गर्न र आपूर्ति सहज बनाउने काम गरेका थियौँ ।’
त्यस्तै उनले आफ्नो कार्यकालमा Central Bidding–Local Purchasing को सञ्चालन तयारी, विज्ञहरूमार्फत जेनेरिक औषधिको मूल्य निर्धारण र औषधिको मूल्य समायोजन सम्बन्धी नीतिगत व्यवस्थाका लागि अध्ययन प्रतिवेदन तयार पारेको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘औषधि, स्वास्थ्य सामग्री, कस्मेटिक सामग्री तथा औषधिय गुण भएका अतिरिक्त खाद्य पोषण नियमन तथा व्यवस्थापनका लागि नयाँ विधेयक तथा औषधिको स्वच्छ मूल्य कायम गर्न निर्देशिका तयार गरेर रायका लागि सरोकारवाला मन्त्रालयमा पठाएका थियौँ । मन्त्रालय सम्हाल्दै गर्दा तत्कालीन समयमा बजेट निर्माण भइसकेको कारण सोही आर्थिक वर्षमा यी नीतिगत व्यवस्था कार्यान्वयनमा केही जटिलता भए पनि त्यसपछिको बजेटमा हामीले यसको आवश्यक व्यवस्थापन गरिसकेका थियौँ । यद्यपि, नयाँ परिस्थितिका कारण ती महत्त्वपूर्ण नीतिगत कामहरूले गति लिन सकेनन्।’
पौडेलले सरकारलाई खुद्रा काममा मात्र नअल्झिई स्वास्थ्य क्षेत्रको प्रणालीगत सुधारमा लाग्न र राज्यलाई नागरिकप्रति जवाफदेही बनाउन तयार गरेका कानुनी तथा नीतिगत दस्तावेज र प्रतिवेदनहरूको गहन अध्ययन गरी कार्यान्वयन गर्न सुझाव दिएका छन् ।

प्रतिक्रिया