राजेश हमाल भन्छन्-अन्यत्र सफल भएको प्रणाली जस्ताको तस्तै अनुकरण गरेर लागू गर्ने प्रयास घातक


काठमाडौँ । नेपाली चलचित्रका महानायक राजेश हमालले अन्यत्र सफल भएको प्रणालीलाई जस्ताको तस्तै अनुकरण गरेर अर्को देशमा लागू गर्ने प्रयास प्रतिफलदायी नहुने बताएका छन् ।

शनिबार सामाजिक संजालमार्फत हमालले एउटा बिरामीको परीक्षण गरेर अर्को बिरामीलाई उपचार गर्न नमिल्ने जस्तै कुनै पनि कुराको अनुकरणमा ध्यान दिनुपर्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘एउटा बिरामीको परीक्षण गरेर अर्को बिरामीलाई उपचार गर्न मिल्दैन। ठीक त्यसरी नै, कुनै पनि राष्ट्रका कानुन, संस्थागत व्यवस्था र विकासको मोडल त्यस राष्ट्रको आफ्नै आर्थिक, सामाजिक र सांस्कृतिक यथार्थअनुसार निर्माण हुनुपर्छ । अन्यत्र सफल भएको प्रणालीलाई जस्ताको तस्तै अनुकरण गरेर अर्को देशमा लागू गर्ने प्रयास प्रतिफलदायी हुँदैन। यस्तो दृष्टिकोण भनेको घोडाअगाडि गाडा राख्नुजस्तै हो। हरेक राष्ट्रको आफ्नै इतिहास, क्षमता, चुनौती र आकांक्षा हुन्छ। एउटा परिवेशमा सफल भएका नीतिहरू आवश्यक आधार र पुर्वाधारको अभावमा अर्को परिवेशमा असफल पनि हुन सक्छन्।’

त्यस्तै उनले कुनै पनि राष्ट्रका नियम, कानुन र नीतिहरू त्यस देशको पूर्वाधार, संस्थागत क्षमता र जनताको जीवनस्तरसँग सामञ्जस्य हुने गरी निर्माण गरिनुपर्ने उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘कुनै पनि राष्ट्रका नियम, कानुन र नीतिहरू त्यस देशको पूर्वाधार, संस्थागत क्षमता र जनताको जीवनस्तरसँग सामञ्जस्य हुने गरी निर्माण गरिनुपर्छ। दिगो प्रगति अन्धानुकरणबाट होइन, बरु असल सिद्धान्तलाई आफ्नै राष्ट्रिय यथार्थअनुसार आत्मसात् गर्दै देशको आवश्यकताअनुकूल सुधारहरू लागू गर्नबाट हासिल हुन्छ । त्यसैले, कुनै पनि राष्ट्रका नियम, कानुन र नीतिहरू त्यस देशको पूर्वाधार, संस्थागत क्षमता र जनताको जीवनस्तरसँग सामञ्जस्य हुने गरी निर्माण गरिनुपर्छ। दिगो प्रगति अन्धानुकरणबाट होइन, बरु असल सिद्धान्तलाई आफ्नै राष्ट्रिय यथार्थअनुसार आत्मसात् गर्दै देशको आवश्यकताअनुकूल सुधारहरू लागू गर्नबाट हासिल हुन्छ ।