कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी तुलाधरलाई


काठमाडौँ  । निर्वाचन आयोगको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डा जानकीकुमारी तुलाधरले सम्हालेकी छन् ।

यसअघिका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी असार २३ गते ६५ वर्षे उमेर हदका कारण अवकाशमा गएपछि त्यसपछिको वरीयतामा रहेकी आयुक्त तुलाधरलाई सो जिम्मेवारी सरेको हो ।

पाँच सदस्यीय हुने आयोगमा हाल तुलाधर र आयुक्त सगुनशमशेर जबरा कायम छन् ।तत्कालीन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको २०८२ वैशाख ५ गते र तत्कालीन निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलको २०७९ फागुन ४ गते कार्यकाल सकिएको थियो ।

संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका तीन जनाविरुद्ध उजुरी आह्वानसहित सुनुवाइ प्रक्रिया सुरु गरेको छ । संवैधानिक परिषद्ले मानबहादुर कार्की (मोरङ) लाई प्रमुख निर्वाचन आयुक्त तथा डा राजीव सुब्बा (काठमाडौँ) र गुरुप्रसाद वाग्ले (ओखलढुंगा) लाई निर्वाचन आयुक्तमा सिफारिस गरेको छ ।