गृहमन्त्रीको आक्रोशः गणेश नेपालीले आत्मदाह प्रयास गरेको ठाउँमा हाम्रो सरकार थियो र ?


काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले आत्मदाह गरेका गणेश नेपालीको मोटरसाइकलमा ह्वील लक ट्राफिक प्रहरीले नलगाएको बताएका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री गुरुङले गणेश नेपालीको मोटरसाइकलमा नगर प्रहरीले ह्वील लक गरेको बताएका हुन् ।

विपक्षी दलका सांसदहरुतर्फ लक्षित गर्दै उनले भने,‘मुलुकमा तीन थरीका सरकार छन् । संघीय सरकार, स्थानीय सरकार र प्रदेश सरकार छन् । हिजो घटना भएको ठाउँमा कसको सरकार छ ? रास्वपाको छ ? त्यहाँ त हाम्रो सरकार थिएन ।’ गृहमन्त्री अघि बोलेका विपक्षी दलका सांसदहरुले प्रधानमन्त्रीलाई कालो चस्मा खोल्न आग्रह गरेका थिए । केहीले गृहमन्त्री स्टन्टबाजीमा उत्रिएको बताएका थिए । गृहमन्त्री गुरुङले आफूहरुले गणेशलाई बचाउन आफूहरुले हरसम्भव प्रयास गरेको तर नसकेको बताए । उनले भने, ‘हामी गृहमन्त्रीमा बसेर कसरी के गर्ने भनेर टिम बनाएर छलफल गरिरहेका थियौं । हिजो हस्पिटलमा कति जना हुनुहुन्थ्यो ? जो यहाँ घाँटी चिच्याएर कराउनुभएको छ ।’

उनले एयर एम्बुलेन्सबाट उनलाई भारत लैजाने प्रयास गरेको तर स्वास्थ्य गम्भीर भएकाले चिकित्सकको सुझावअनुसार राति भारत नलगेको बताए ।

उनले आफूले स्टन्टबाजी नगरेको बताए । उनले घाँची चिच्याएर मात्रै नहुने भन्दै हातले काम गर्नुपर्ने बताए । उनले भने, ‘मुखले बोलेर मात्र हुँदैन । त्यो मुखले बोलेको ५० औं वर्ष भइसक्यो । हामीले हातले गर्नुपर्छ । आफ्नो जनताको सेवा ठाउँमा गएर गर्नुपर्छ । त्यसलाई तपाईंहरू स्टन्टबाजी भन्नुहुन्छ । मलाई इच्छा छैन कसैको लागि स्टन्टबाजी गर्नका लागि ।’

उनले घटनाको छानबिन गर्न एआईजी गोविन्द थपलियाको संयोजकत्वमा पाँच सदस्यीय समिमित गठन गरिएको जानकारी दिए । त्यस्तै घटनामा संलग्न भएको आरोपमा तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।