काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको व्यवहार अपरिपक्व र अस्थिर देखिएको टिप्पणी गरेका छन् । बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले जनताले नै सरकारको मूल्यांकन गरिरहेको बताए ।
उनले सुकुम्बासी बस्तीमा डोजर चलाइएको, बालबालिका रोएको तथा विस्थापनका तस्बिरहरू सञ्चारमाध्यममै देखिएको भन्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाए ।
उनले अहिले नेपालमा खुसी हुने ठाउँ कम भएको भन्दै अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हेरेर मात्रै केही समय मनोरञ्जन लिनुपर्ने अवस्था आएको टिप्पणी गरे ।
उनले भने, ‘पत्रकार भाइबहिनीहरूले अक्सर प्रश्न सोध्ने गर्नुहुन्छ, १०० दिनको अहिलेको सरकारको कार्यकाल कस्तो लाग्यो भनेर । तपाईहरु देखिराख्नुभएको छ। सुकुम्वासीका फोटो आफैँ छापिराख्नुभएको छ। बालबालिकाका धरधरी रोएका फोटोहरु आफैले छापिराख्नुभएको छ। सुकुम्वासी बस्तीहरूमा डोजर लगाएको तपाईँ आफैँले छापिराख्नुभएको छ, प्रसारित गरिराख्नुभएको छ। नेपालमा अहिले खुसी हुनका लागि त अन्तर्राष्ट्रिय फुटबल गेम चलिराखेको छ, राति अबेरसम्म त्यो हेरेर बस्नुपर्छ । एकछिन खुसी हुने हो, नत्र खुसी हुने कतै ठाउँ छैन।’
सरकारको अवस्थालाई उदाहरण दिँदै ओलीले उम्लिएको दूधसँग तुलना गरे । उनले दुई माना दूध एक पाथी जाने भाँडामा तताउँदा भरिएर पोखिए पनि त्यो वास्तविक रूपमा भरिएको नभई केवल उम्लिएको हुने बताए ।
उनले भने, ‘अहिले यो सरकार कहाँ ठेगानमा छ ? यसका खुट्टा कहाँ भुइँमा छन् ? उम्लिएका छन् । दूध भाँडाको पिँधमा छैन, भाँडा भरि भएको छ, थोरै भए पनि उम्लिएको छ ।’
उनले सरकारका १०० दिनका काम पनि त्यस्तै ‘उम्लिएको’ अवस्थाजस्तो देखिएको बताए । अध्यक्ष ओलीले एमाले समाप्त भएको भन्ने टिप्पणीप्रति आपत्ति जनाउँदै एमाले देश निर्माण र सफलताका लागि जन्मिएको पार्टी भएको बताए । उनले भने, ‘मान्छेहरू एमाले सकियो, एमाले सकियो भन्छन् । एमाले सकिन जन्मेको पार्टी होइन । यो त बढ्न, सफल हुन र देश बनाउन जन्मेको पार्टी हो ।’

प्रतिक्रिया