वर्तमान राजनीतिक परिस्थिति पुराना दलहरूका लागि पुनर्जीवित गर्ने एउटा अवसर पनि होः शंकर पोखरेल


काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुशासन र विधिको शासन दिन नसके सरकारको आयु र प्रभाव क्षणिक मात्र हुने बताएका छन् । शनिबार सामाजिक संजालमार्फत महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘आजको समयको सत्यः पपुलिजम र सामाजिक सञ्जालको अल्गोरिदमका भरमा लहर सिर्जना गरेर सत्तामा पुग्नु एउटा कुरा हो, तर सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ।’

महासचिव पोखरेलले वर्तमान राजनीतिक परिस्थिति पुराना दलहरूका लागि संकट मात्र नभई आफूलाई पुनर्जीवित गर्ने एउटा अवसर पनि भएको बताएका छन् ।

उनले भनेका छन्, ‘वर्तमान राजनीतिक परिस्थिति पुराना दलहरूका लागि संकट मात्र होइन, आफूलाई पुनर्जीवित गर्ने एउटा अवसर पनि हो। विचार, संगठन, आचरण र व्यवहारमा प्रभावकारी सुधार ल्याएर मात्रै पुराना दलहरूले आफूलाई जनतामा पुनः स्थापित गर्न सक्दछन् । यदि पुराना दलहरूले समयमै आफूलाई सुधार गर्न सकेनन् भने, राजनीतिमा एउटा पपुलिष्टको पतन पछि त्यसको ठाउँ पुनः अर्को पपुलिष्टले नै लिने सम्भावना रहन्छ । यो सत्यलाई बुझेको नेकपा(एमाले) वर्तमान चुनौतीलाई हरेक ढंगले सामना गर्न र मुलुकलाई नयाँ सोच र संकल्पकासाथ संविधानवाद र परिपूर्ण लोकतन्त्रको दिशामा अघि वढाउन सक्षम छ।’