साझा यातायातको हरियो पहिचानलाई रङ परिवर्तन गरेर कमजोर बनाइनु उपयुक्त देखिँदैनः कुलमान घिसिङ


काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले साझा यातायातको रङ परिवर्तन गरी ‘ब्लू बस’ नबनाउन सरकारलाई आग्रह गरेका छन् ।

सरकारले साझा यातायातको बसको रङ परिवर्तन गरी महिलाका लागि निःशुल्क ‘ब्लू बस’ संचालन गर्न लागेको सन्दर्भमा उनको यस्तो भनाई आएको हो । उनले साझा यातायातले विद्युतीय सवारी (इभी) प्रवद्र्धन गर्दै हरित र दिगो सार्वजनिक यातायातको सन्देश दिन वर्षौंदेखि अपनाउँदै आएको हरियो पहिचानलाई रङ परिवर्तन गरेर कमजोर बनाइनु उपयुक्त नहुने बताएका छन् ।

उनले भनेका छन्, ‘सरकारले शासकीय सुधारसम्बन्धी सय दिने कार्यसूचीअन्तर्गत महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्न ‘ब्लू बस’ सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ। यसका लागि साझा यातायातका बसहरू प्रयोग गरिने चर्चा पनि छ। महिलाको सुरक्षित यात्राका लागि विशेष व्यवस्था गर्नु सकारात्मक कदम हो। तर साझा यातायातले विद्युतीय सवारी (इभी) प्रवद्र्धन गर्दै हरित र दिगो सार्वजनिक यातायातको सन्देश दिन वर्षौंदेखि अपनाउँदै आएको हरियो पहिचानलाई रङ परिवर्तन गरेर कमजोर बनाइनु उपयुक्त देखिँदैन। हरियो रङ केवल रंग मात्र होइन, वातावरणमैत्री सार्वजनिक यातायातप्रतिको प्रतिबद्धताको प्रतीक पनि हो। हामी हर्रेक क्षेत्रलाई हरित वनाछौ भन्ने राष्ट्रीय संकल्प पनि हो ।’

उनले महिलाका लागि निःशुल्क बस सेवा संचालन गर्नु स्वागतयोग्य पहल भएपनि रङ परिवर्तनभन्दा सोच परिवर्तन आवश्यक रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘महिलाका लागि निःशुल्क वा विशेष बस सञ्चालन गर्नु स्वागतयोग्य पहल हो। तर वास्तविक समाधान भनेको महिलाले जुनसुकै सार्वजनिक यातायात प्रयोग गर्दा पनि पूर्ण रूपमा सुरक्षित महसुस गर्ने वातावरण निर्माण गर्नु हो । महिलाको सुरक्षा कुनै एउटा ’ब्लू बस’ मा सीमित हुनु हुँदैन, सम्पूर्ण सार्वजनिक यातायात प्रणाली नै सुरक्षित, मर्यादित र महिलामैत्री बन्नुपर्छ । रङ परिवर्तनभन्दा सोच परिवर्तन आवश्यक छ। महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्दै सार्वजनिक यातायातलाई सबैका लागि सुरक्षित, सम्मानजनक र विश्वासयोग्य बनाउनु नै सरकारको प्राथमिकता हुनुपर्छ। त्यतिबेला मात्र महिलाको समान सहभागिता र सुरक्षित जीवनयापनको वास्तविक सुनिश्चितता हुनेछ।’

सरकारले आगामी साउन १ गतेदेखि काठमाडौँमा आठ ‘ब्लू बस’ संचालनको तयारी गरेको छ ।