काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराले सक्रिय राजनीतिक जीवनबाट बिदा लिएका छन् । बिहीबार विज्ञप्ति जारी गरी महराले पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्य रहने निर्णय गरेको जानकारी गराएका हुन् ।
उनले भनेका छन् ,‘यथार्थलाई आत्मसात गर्दै, निकै गह्रौँ मनका साथ आजकै मितिदेखि पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्य रहने निर्णय गरेको जानकारी गराउन चाहन्छु। यो निर्णय कुनै असन्तुष्टि, गुनासो वा वैचारिक विचलनका कारण नभई केवल स्वास्थ्य अवस्थाले सिर्जना गरेको बाध्यात्मक परिस्थितिको परिणाम हो ।’
उनले केही वर्षयता आफू एट्रोफी सम्बन्धी रोगबाट पीडित भएकाले यो निर्णय लिएको बताएका छन् । उनले भनेका छन्, ‘म केही वर्षयता आफू एट्रोफी सम्बन्धी रोगबाट पीडित छु । नसाहरू र मांसपेशीहरू क्रमशः खुम्चिँदै जाने यस समस्याका कारण नियमित उपचार, थेरापी तथा औषधि सेवन गरिरहे पनि स्वास्थ्य अवस्थाले अपेक्षित साथ दिन सकेको छैन। परिणामस्वरूप, पार्टीका नियमित गतिविधि र जिम्मेवारीहरूमा विगतझैँ सक्रिय, प्रभावकारी र जिम्मेवार ढंगले योगदान गर्न कठिन हुँदै गएको छ ।’


प्रतिक्रिया