काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको महाधिवेशनका क्रममा निर्वाचन आचारसंहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन निर्देशन दिने निर्णय गरेको छ ।
बिहीबार बसेको सचिवालय बैठकले महाधिवेशन अगावै विभिन्न पदमा दाबी गर्ने र आवश्यकता भन्दा बढी प्रचारप्रसार देखिएकाले आचारसंहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन निर्देशन दिने निर्णय गरेको महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए।
उनले भने,‘अनुशासनमा रहने र पार्टीको निर्वाचन आचारसंहिताभित्र पनि रहनेगरी निर्देशन गरिएको छ । पार्टीको महाधिवेशन अगावै आवश्यकता भन्दा बढी प्रचारप्रसार भएको होकि भन्ने पनि आएको थियो । त्यसो नगरी पार्टीलाई सौहार्दपूर्ण रूपमा एकढिक्का राख्नको लागि सबैको योगदान महत्वपूर्ण हुने भएकाले निर्वाचन आचारसंहिताभित्र रहेर सबै सदस्यलाई प्रस्तुत हुन अनुरोध गर्ने निर्णय भएको छ ।’
उनले अहिलेसम्मको प्रस्तावमा पार्टीको केन्द्रीय समिति १५१ र प्रदेश समितिका सभापतिहरू पदेन रहने छलफल अघि बढेको बताए । त्यस्तै बैठकले महाधिवेशनमा सहभागी हुने सबै प्रतिनिधिहरूले आफ्नो पुरानो पदअनुसारको लेवी तिरेको हुनुपर्ने र लेवी नतिरेको भए प्रवेशमा रोक लगाउने निर्णय गरेको पनि उनले जानकारी दिए ।
उनले भने, ‘अधिवेशनमा सहभागी हुने सबै प्रतिनिधिहरुले आफ्नो पुरानो पद अनुसारको लेवी तिरेको हुनुपर्ने लेवी नतिरे प्रवेशमा रोक लगाउने छ त्यसैले लेवी तिर्नको लागिआजको बैठकबाट अनुरोध गरेको छ।’

प्रतिक्रिया