मन्त्रीहरूको बोलीमा लगाम लगाउन प्रधानमन्त्रीलाई विश्वप्रकाशको सुझाव


काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मन्त्रीहरूको बोलीमा लगाम लगाउन प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । पूर्वाधार मन्त्री सुनिल लम्सालले ’काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनू’ भनेर दिएको अभिव्यक्तितर्फ संकेत गर्दै उपसभापति शर्माले मन्त्रीहरुको बोलीमा लगाम लगाउन सुझाव दिएका हुन् ।

उनले धनगढीमा एक श्रमिक महिलाको टेम्पोलाई कर्मचारीले भिरबाट धकेलिदिएको, सिरहामा विद्यार्थीका मोबाइल पानीमा डुबाएर नष्ट गरेको र मन्त्री लम्सालले दिएको अभिव्यक्तिले समाज कता जाँदैछ भन्ने प्रश्न देखापरेको बताएका छन् ।

उनले भनेका छन्, ‘मन्त्रीजी भन्नुहुन्छ – खुट्टा भाँचिदिनु । सुदूरपश्चिम धनगढीबाट खबर आयो– एक श्रमिक महिलाको ’टेम्पु‘ भिरबाट धकेलेर नस्ट गरियो । मधेस प्रदेशको सिरहामा परीक्षा हलमा भेटिएका ५ सय बढी मोबाइल पानीमा चोबेर नस्ट गरियो । समाज कता जाँदैछ ? के हामी त्यो देशको झैँ कानुन, न्याय र समाज स्थापित गर्न चाहन्छौं ? जहाँको कथा छ – कसैले चोरी गरेको सजायमा दुवै हात काटिन्छ, के त्यस्तै समाज ?’

आइतबार नागढुंगा–मुग्लिङ सडक योजनाको निरीक्षण क्रममा मन्त्री लम्सालले बिजुलीको पोल नसार्ने ठेकेदारको खुट्टा भाँच्न’ निर्देशन दिएका थिए । उनले भनेका छन्,‘यो बिजुलीको पोल सार्ने कन्ट्रयाक्टर धर्तीमा कहाँ छ ? खोजेर लिएर यहीँ राख्नुस्। काम गर्दैन भने खुट्टा भाँच्दिनू, मतलब भएन ।’