काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङले सीमा विवादबारे प्रधानमन्त्रीको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन माग गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा पार्टी अध्यक्ष साम्पाङले प्रधानमन्त्रीको अभिव्यक्ति कहिले हटाउने भन्दै सभामुखलाई प्रश्न गरे । उनले भने, ‘सभामुखज्यू, प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाइयोस् भन्ने हाम्रो माग थियो । त्यो कहिले हटाउने आदेश दिनुहुन्छ होला भनेर हामी व्यग्र पर्खिरहेका छौं ।’
जेठ १७ गते प्रधानमन्त्रीले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिनेक्रममा नेपालले पनि भारतको भूमि मिचेको बताएका थिए ।
त्यस्तै उनले कैलालीमा एक टेम्पोलाई भीरबाट खसालिएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । उनले गरिबको टेम्पो चालकको सवारीसाधन वन प्रहरीको उपस्थितिमा भीरबाट गुल्ट्याइएको दृश्यले आफूहरू मर्माहत भएको बताए।
उनले उक्त घटनाको निष्पक्ष छानबिन गरी संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्न तथा पीडित चालकलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन गृहमन्त्रीको ध्यानाकर्षण गराए। अध्यक्ष साम्पाङले सोही क्रममा घरको छानामाथि ढुंगा हानिएको अर्को दृश्य पनि देखिएको उल्लेख गर्दै पछिल्लो समय प्रहरीको व्यवहारप्रति चिन्ता व्यक्त गरे ।
नागरिकले प्रहरी देख्दा सुरक्षा र संरक्षणको अनुभूति गर्नुपर्ने भएपनि केही घटनाका कारण प्रहरीप्रति डर र त्रासको वातावरण सिर्जना भएको उनको भनाइ थियो। गत जेठ २९ गते डिभिजन वन कार्यालय कैलालीका कर्मचारीले अतिक्रमण हटाउने क्रममा गोदावरी नगरपालिका वडा नम्बर ४ मा एक महिलाको टेम्पो भीरबाट खसालिएको भिडियो सार्वजनिक भएको थियो ।

प्रतिक्रिया