कुनै हालतमा पार्टी फुटाउन दिँदैनौँः शेखर कोइराला


विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कुनै पनि हालतमा पार्टीलाई फुटाउन नदिने बताएका छन् । आइतबार कांग्रेसको संस्थापन इत्तर समूहले विराटनगरमा आयोजना गरेको कोसी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै कोइरालाले  संकुचित घेराभन्दा माथि उठेर सिङ्गो पार्टीलाई एकताबद्ध बनाउने अभियानमा आफूहरू अविचलित रूपमा लागिरहने बताएका हुन् ।

उनले अहिले मुलुकमा लोकतन्त्र धरापमा पर्दै गएको र निरंकुशता हाबी हुन खोजेकाले कांग्रेस एक हुनुको विकल्प नभएको बताए । कोइरालाले मुलुकमा अप्ठ्यारो अवस्था आउँदा जनताले कांग्रेसलाई नै सम्झिने गरेको उल्लेख गर्दै अहिलेको राष्ट्रिय आवश्यकता सहमति, सहकार्य र एकता नै भएको बताए ।

उनले कांग्रेसका नेताहरु विश्वव्यापी रूपमा चलेको सस्तो लोकप्रियताको पछि कुद्नु चिन्ताको विषय भएको बताए । कोइरालाले पार्टी भित्र निरङकुशता हावी भएको बताए ।

उनले भने,’काँग्रेसभित्र पनि आन्तरिक लोकतन्त्रको अभाव र निरंकुशतावादी चरित्र बढ्दै छ । विनाकारण र स्पष्ट स्पष्टीकरण विना नै विभिन्न जिल्लाका वडा सभापतिहरूलाई पदबाट हटाइको छ ।’ सदस्यता अद्यावधिक गर्न नमानेको बहानामा कारबाही गरिनु निरंकुशताको प्रस्थानविन्दु भएको उनको भनाई थियो ।