काठमाडौँ । सगेन्द्र सिंहले यस वर्षको ’मिस्टर महानगर’ उपाधि जितेका छन् । शुक्रबार र शनिवार राष्ट्रियसभा गृहमा आयोजना गरिएको मिस्टर महानगर शारीरिक सुगठन प्रतियोगितामा डिभाइन फिजिकल फिटनेस सेन्टरका सिंहले ७५ केजी भन्दा माथिको तौल समूहबाट उपाधि हासिल गरेका हुन् । उनले तौल समूहको प्रतिस्पर्धामा १ लाख रुपियाँ र ओभरअल प्रतिस्पर्धाबाट दोस्रो ‘मिस्टर महानगर’को उपाधिसहित ५ लाख रुपियाँ नगद, ट्रफी र ब्यानेट प्राप्त गरे ।
गएवर्ष अर्थात् पहिलो प्रतियोगितामा ग्रेस महर्जनले पहिलो ‘मिस्टर महानगर’ उपाधि प्राप्त गरेका थिए । विजेताहरुलाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गर्दै काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले भनिन्, ‘शारीरिक सुगठन प्रतियोगिताले, प्रतिकुलताका विच पनि निरन्तर प्रयत्नबाट सफलता प्राप्त हुन्छ । अनुशासनले सफलता दिन्छ भन्ने सन्देश दिन्छ ।’
प्रतियोगिताको ओभरअल प्रतिस्पर्धामा ५५ केजी तौल समूहबाट जिमटारका सविन चौलागाईँ, ६० केजी तौल समूहबाट फिटएक्स जिमका अमृत गहतराज, ६५ केजी तौल समूहबाट फिटनेस ग्यारेज थापाथलीका नवराज डुम्ब्रे, ७० केजी तौल समूहबाट ग्यारेजकै माधव सुवेदी, ७५ के. जी. तौल समूहबाट नेपाल व्यायाम मन्दिरका क्षितिज थापा र ७५ केजी भन्दा माथिको तौल समूहबाट डिभाइनका सिंहले प्रतिस्पर्धा गरेका थिए ।
महिला फिजिक्सतर्फ एनआरके फिटनेसबाट सीता खत्रीले प्रथम स्थान हासिल गरिन् । उनलाई नगद १ लाख २५ हजार रुपियाँसहित पदक र सम्मान पत्र प्रदान गरियो ।
काठमाडौँ महानगरपालिका वडा नं. २२ ले नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघसँगको सहकार्यमा तथा काठमाडौँ जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोगमा प्रतियोगिता आयोजना गरेको थियो ।
रोग लागेर उपचार गर्न अस्पताल जानु पर्ने दयनीय अवस्थालाई सुधार गरेर रोगको बाटो छेकेर निरोगी बन्ने कार्यक्रमलाई प्रोत्साहन गर्न र व्यायामको अभ्यासलाई प्रवर्धन गर्न प्रतिस्पर्धा आयोजना गरिएको बताए । प्रतिस्पर्धासँगै स्वस्थ जीवनशैली प्रवर्धनका लागि खेल मैदान निर्माण र खेलकुदका गतिविधिलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ । उनका अनुसार पहिलो संस्करणमा पुरुषतर्फ मात्र प्रतियोगिता गरिएको थियो । यस वर्ष भने महिलालाई पनि एथलेटिक्स फिजिक्स विधामा सहभागी गराइयो ।
यस वर्ष पुरुषतर्फ ९ विधामा प्रतिस्पर्धा भयो । यस अन्तर्गत ६ वटा तौल समूह, २ वटा स्पोर्ट फिजिक्स र एउटा ओभरअल प्रतिस्पर्धा थियो । तौल समूहमा ५५ केजी, ६ केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ केजीभन्दा माथि थियो । एथलेटिक्स फिजिक्सतर्फ १७० सेन्टिमिटरभन्दा माथि र १७० सेन्टिमिटरसम्म गरी दुई विधामा प्रतिस्पर्धा भयो । महिलातर्फ एथलेटिक्स फिजिक्स अन्तर्गत प्रतिस्पर्धा खुला थियो ।
प्रत्येक तौल समूहका विजेता खेलाडी ओभरअल प्रतिस्पर्धामा सहभागी भएका थिए । प्रतियोगिताको पहिलो दिन खेलाडीहरुको तौल नापिएको थियो । दोस्रो दिन प्रिजजिङ र फाइनल प्रतिस्पर्धा भएको थियो । प्रत्येक तौल समूहका विजेतालाई १ लाख रुपियाँ नगद, पदक र प्रमाण पत्र प्रदान गरिएको थियो । अघिल्लो वर्ष ७५ हजार रुपियाँ रहेको पुरस्कार राशी यस वर्ष बढाएर १ लाख बनाइएको हो । उपविजेता, तेस्रो, चौथो र पाँचौँ स्थान हासिल गर्ने खेलाडीहरूले क्रमशः ५० हजार, २५ हजार, १५ हजार र १० हजार रुपियाँ प्रदान गरिएको थियो ।
एथलेटिक्स फिजिक्सतर्फ पुरुष र महिला दुवै विधामा प्रथम पुरस्कार १ लाख २५ हजार रुपियाँ प्रदान गरियो । दोस्रो देखि पाँचौँ स्थानसम्म क्रमशः ७५ हजार, ५० हजार, २५ हजार र १० हजार रुपियाँ नगदसहित ट्रफी र मेडल प्रदान गरियो ।
विजेताहरुलाई प्रदान गरिएको पदकलाई काठमाडौँको संस्कृतिको बिम्ब हो । यहाँ मनाइने जात्रामध्येको पाहाँचह्रे जात्राको रङ्ग र त्यहाँ प्रयोग गरिने खड्गलाई पदकमा बिम्बित गरिएको छ । जात्राका समयमा वडा नम्बर २२ मा रहेको ओटु अजिमाको प्रतीकका रुपमा प्रयोग गरिने निलो टोपी, टेवहाल अजिमाको प्रतीकका रुपमा प्रयोग गरिने पहेँलो टोपी र कंकेश्वरी अजिमाको प्रतीकका रुपमा प्रयोग गरिने रातो टोपीको रङ्ग मिसाएर पदकको रिवनलाई निलो, रातो र पहेँलो ३ रङ्गको छ ।
यस्तै पदकको पछिल्लो भागमा राखिएका खड्गहरु टेवहाल र ओटु अजिमाका संकेत हुन् । पदकको अगाडिपट्टि हर्ष मुद्रामा रहेको शारीरिक सुगठनको प्रतीक छ । प्रतीकले हात उठाएको छ । यसको माथि एउटा तारा छ । यसको अर्थ यो प्रतियोगिता पहिलो प्रतियोगिताको संकेत हो । दायाँबायाँ धानको बाला छ । काठमाडौँको मुख्य बाली धान भएकोले यहाँको कृषि पेशालाई बिम्बित गर्दै बाला राखिएको हो ।

प्रतिक्रिया